काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बाँकी कार्यकाल अझै बढी मेहनतका साथ काम गर्ने बताएका छन् । सर्वाेच्च अदालतले प्राधिकरणको कार्यकारी निर्देशक शाक्यलाई हटाउने कुलमान घिसिङको निर्णय खारेज गर्दै पुनर्बहालीको लागि आदेश जारी गरेपछि आज पदबहाली गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘बाँकी कार्यकाल अझ बढी मिहिनेतको साथ काम गर्छु। नेपाल सरकारको नीति निर्देशन अनुसार काम गर्छु।’
प्राधिकरणको आफ्नै अग्रसरतामा विद्युत आयोजना निर्माण गर्ने उनले बताए ।
उनले गुणस्तरीय, भरपर्दो र निरन्तर विद्युत आपूर्तिको लागि प्राधिकरणको प्रणाली सुधारमा अधिकतम ध्यान दिएर काम अगाडि बढाउने उद्घोष गरेका छन् ।
त्यस्तै उनले दुखेसो पोख्दै भने, ‘प्राधिकरणकै एमडी भएकोले मेरो घर जल्यो । म पीडामा परें। तर तेही पीडामा म बस्दिन । म काममा अगाडि बढें । मुलुकको हितमा अधिकतम काम गर्छु ।’






















