Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मुख्यमन्त्री शाहको चेतावनी–‘जनताको करबाट आएको बजेट दुरुपयोग, लापरबाही सह्य हुँदैन’

Citizenlife ad 2082 falgun to baishak 2083

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकास–निर्माणका काममा हुने कुनै पनि ढिलाइ, सुस्ती र लापरबाहीलाई अब सहन नसकिने कडा चेतावनी दिएका छन् । धनगढीमा पूर्वाधार विकास कार्यालय साँफेबगर, अछाम अन्तर्गत अछाम र बाजुरा जिल्लाका आव २०७५–०७६ देखि हालसम्मका १२ वटा समस्याग्रस्त बहुवर्षीय सडक आयोजनाहरूको प्रगति समीक्षा गोष्ठीमा मुख्यमन्त्रीले उक्त चेतावनी दिएका हुन् । पहाडी सात जिल्लाको स्थलगत अनुगमन र निरीक्षण गरी फर्किएपछि मुख्यमन्त्री शाहले पूर्वाधार निर्माण कार्यमा ढिलासुस्ती गर्ने जो–कसैलाई पनि छुट नदिने बताउँदै आएका छन् । मन्त्रालय, आयोजनाका कार्यालय तथा निर्माण कम्पनीका प्रतिनिधिलाई एउटै कार्यक्रममा सहभागी गराई मुख्यमन्त्री शाहले भने, “विकास–निर्माणमा ढिलाइ अब क्षम्य हुँदैन। जनताको करबाट आएको बजेट दुरुपयोग, लापरबाही वा बहानाबाजी सह्य हुँदैन। समयमै निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई अब कुनै छुट दिइने छैन।” उनले समयमै काम नसक्ने वा जनताको अपेक्षा विपरीत आयोजनाहरू अलपत्र पार्ने कुनै पनि ठेकेदार कम्पनी, मन्त्रालय अन्तर्गतका कार्यालय तथा आयोजनाका जिम्मेवार निकायलाई छुट नहुने स्पष्ट रूपमा बताए ।

जिल्लामा सडक आयोजना लामो समयदेखि ढिलाइ र अलपत्र अवस्थामा रहेको बारे स्थानीयवासीबाट व्यापक गुनासो आएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले बाजुरा जिल्लाको मार्तडी–कोल्टी रोड (जिल्ली क्षेत्र) मा गएको पहिरो व्यवस्थापन सहित आवागमन सहज बनाउन निर्देशन दिए । सो क्षेत्रमा पहिरोका कारण आवत–जावत समस्या र नजिकै रहेको स्कुल समेत जोखिममा परेकाले व्यवस्थापन सरकारको दायित्व भएकाले त्यसतर्फ ध्यान दिन समेत निर्देशन दिए । उनले आयोजनाहरू समयमा सम्पन्न गर्न, गुणस्तरयुक्त निर्माण गर्न तथा स्थानीयको विश्वास जोगाउने गरी काम गर्न सबै पक्षलाई स्पष्ट रूपमा आह्वान गरे । साथै, योजनाको सुपरिवेक्षण, अनुगमन तथा समस्याको समाधानका लागि प्रदेश सरकार पूर्ण रूपमा जिम्मेवार रहने पनि उनले बताए ।

अछाम र बाजुरा जिल्लामा निर्माणाधीन जयगढ–माझेठाना–रामारोशन सडक, मार्तडी–कोल्टी–पिलिचौर सडक, सेरा–आटीचौर–थामलेक सडक, चिसापानी–जंगलघाट–बडीमालिका सडक (जंगलघाट–तुर्माखाँद–बाँसकाँडा खण्ड), खप्तड–मार्तडी–भौनेरा–आटीचौर सडक खण्ड, खप्तड–मार्तडी–डोगडी–गैरीखाँद–काँडा सडक खण्ड, बिनायक–लयाटी–पुलेतोला–रामारोशन सडक, चिसापानी–जंगलघाट–बडीमालिका–गैरीटाँड–कालागाउँ–दर्ना सडक, र साँफे–नन्देगडा–मेल्लेख–षोड्षा–ऋषिदह सडकहरू समयमै सम्पन्न गर्ने विषयमा छलफल भएको थियो।

१२ वटा समस्याग्रस्त बहुवर्षीय सडक निर्माणको जिम्मा बज्र गुरु कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौं, अनक जयदेवी जेभी नेपालगञ्ज, बाँके, पीएस बानिया जेभी हेटौडा, मकवानपुर, बानिया–कुशेश्वर जेभी हेटौडा, मकवानपुर, बानिया निर्माण सेवेन प्रा।लि। मकवानपुर, केएसएम–केबीसी–तेज जेभी धनगढी, शनिदेव निर्माण सेवा प्रालि महेन्द्रनगर, कञ्चनपुर, र नाती कन्स्ट्रक्सन प्रालि इमाडोल, ललितपुरले पाएका छन्।

गोष्ठीमा निर्माण व्यवसायीहरूले मुआब्जासम्बन्धी समस्या, घर–टहरा व्यवस्थापनका कठिनाइ, न्यून जनशक्ति, जग्गा तथा जमिन प्राप्तिको समस्या, निर्माण सामग्रीको मूल्यवृद्धि तथा आर्थिक मन्दी, वन क्षेत्रसम्बन्धी विवाद तथा भौगोलिक विकटता जस्ता कारणले निर्माणमा ढिलाइ हुँदै आएको बताएका थिए।
गोष्ठीमा पूर्वाधार विकास कार्यालय अछामबाट सञ्चालित आयोजनाहरूमा देखिने समस्याहरूको सहजीकरण तथा समाधान गर्ने र योजनाहरू तोकिएको समयभित्र इन्जिनियरिङ् मापदण्ड अनुसार सम्झौता बमोजिम सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता सम्बन्धित निर्माण व्यवसायीहरूले व्यक्त गरेका छन्।

Health Tips Ad Road Block