Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सामाजिक सुरक्षा कोष र सीएनआईबीच श्रमिकको सुरक्षा सुदृढ गर्न समझदारी पत्रमा हस्ताक्षर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सामाजिक सुरक्षा कोष (एसएसएफ) र नेपाल उद्योग परिसंघ (सिएनआई) बीच श्रमिकको सुरक्षा सुदृढ गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । सिएनआई र सामाजिक सुरक्षा कोषले उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जागरण बढाउन र श्रमिकलाई योजनामा आवद्ध गराउन प्रोत्साहन गर्न समझदारी गरेको हो । संयुक्तरूपमा आयोजित सामाजिक सुरक्षाबारे अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यस सहकार्य अन्तर्गत नेपाल उद्योग परिसंघले आफ्ना सदस्य उद्योगहरूलाई सामाजिक सुरक्षा योजनामा जोड्न सहयोग गर्न, देशभर सचेतना कार्यक्रम सञ्चालनमा गर्न, आवश्यक जानकारी उपलब्ध गराउन तथा श्रमीकका दीर्घकालीन हित सुनिश्चित गर्ने उद्देश्य रहेको छ ।

समझदारी पत्रमा एसएसएफका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र परिसंघका तर्फबाट महानिर्देशक डा.घनश्याम ओझाले हस्ताक्षर गरेका छन् ।

समझदारीसँगै उद्योग परिसंघले आफ्नो आवद्धतामा रहेका संघसंस्था तथा प्रतिष्ठानलाई श्रम ऐन, २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सहजीकरण गर्नेछ। सोही अवसरमा कोषले उद्योग परिसंघसँगको सहकार्यमा सामाजिक सुरक्षा योजनासम्बन्धी सचेतना तथा प्रशिक्षण कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने तथा कार्यक्रमका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएको छ।

दुवै संस्थाले सामाजिक सुरक्षा योजनामा रोजगारदाता र श्रमिकहरुको आवद्धता बढाउन यो समझदारी महत्त्वपूर्ण कदम रहेको बताउँदै, श्रमिक तथा रोजगारदातामाझ सामाजिक सुरक्षा योजनाका बारेमा अझ सुदृढ ढंगले अग्रसरताका साथ आठौं सामाजिक सुरक्षा दिवसको नारा ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सन योग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिकको जीवन रक्षा ले निर्धारित लक्ष्य प्राप्तिमा सहयोग पुग्ने विश्वास कोषले लिएको छ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले सामाजिक सुरक्षा कोष श्रमिकको जीवन सहज र सुरक्षित बनाउने एक महत्वपूर्ण आधार भएको उल्लेख गर्दै, यस समझदारीले सबै क्षेत्रका श्रमिक र रोजगारदाताको सक्रिय सहभागिता अभिवृद्धी गर्न र दर्ता प्रणालीमा समाहित हुन सहयोग गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले यो सहकार्य श्रमिक र उद्योग दुवैका लागि अत्यन्त महत्त्वपूर्ण भएको बताए । उनले उद्योगीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यो साझेदारीले सामाजिक सुरक्षा प्रणालीलाई अझ व्यवहारिक र पहुँचयोग्य बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

यस्तै सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सामाजिक सुरक्षा प्रणालीलाई अझ सुदृढ बनाउँदै लैजान र श्रमिकका सुविधाहरूलाई विस्तार गर्दै लैजान यो सहकार्य महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा परिसंघका उपाध्यक्ष भीम घिमिरेले सामाजिक सुरक्षा कोष कल्याण कार्यक्रम मात्र नभएर मानव पँजी विकासको मुख्य आधार रहेको बताए । उनले परिसंघले यस्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम प्रदेश स्तरमा पनि बृहत रुपमा संचालन गर्ने बताए ।

कार्यक्रममा सामाजिक सुरक्षा कोषका पूर्व संचालक समिति सदस्य तथा परिसंघको रोजगारदाता परिषदका सभापति धुव्र रिजाल, सामाजिक सुरक्षा कोषका संचालक समिति सदस्य तथा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत बहादुर सिँखडा लगायत अन्य आवद्ध महासंघका पदाधिकारीहरु, सामाजिक सुरक्षा कोषका प्रतिनिधिहरु, रोजगारदाता परिषदका सदस्यहरु, उद्योगी व्यवसायी प्रतिनिधिहरु लगायत उपस्थित थिए ।

Health Tips Ad Road Block