काठमाडौँ । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पनि फाइनलमा पुगेको छ । पहिलो संस्करणको उपविजेता यसपाली पनि फाइनल पुगेको हो । आज भएको पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपीएलमा लगातार दोस्रो पटक फाइनल पुगेको हो । सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले १५५ रन बनायो । १५६ रनको चुनौती पछ्याएको विराटनगर १४ ओभर १ बलमा सबै विकेट गुमाएर ७८ रनमा समेटिन पुग्यो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले ५२ बलको सामना गर्दै तीन चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ६३ रन बनाए । पूरै २० ओभर खेलेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रन बनाएको थियो । उसका लागि भण्डारीसँगै शेल्डन ज्याक्सन, आरिफ शेखले समान २०–२० रन, हरमित सिंहले १४ रन, इशान पाण्डेले १३ रन र मुख्तार अहमदले १० रन जोडे ।
विराटनगरका लागि प्रतिश जिसी र मर्चेन्ट डि लेङ्गाले दुई/दुई विकेट लिँदा सूर्य तामाङ र साम हिजलेटले एक/एक विकेट हात पारे । सुदूरपश्चिमविरुद्ध सन्दीप लामिछाने भने विकेट बिहीन बने । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । विराटनगरका लागि फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाए । उसका लागि मर्चेन्ट डे लाङ्गेले १५ रन, बसिर अहमदले १२ रन थपे । विराटनगरलाई सस्तैमा समेट्न सुदूरपश्चिमका लागि स्कट कुगलेइजन, हरमित सिंह र अविनास बोहराले दुई/दुई विकेट हात पार्दा दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले एक/एक विकेट हात पारे ।
पहिलो क्वालिफायरमा पराजित विराटनगरले एलिमिनेटरको विजेतासँग फाइनल पुग्नका लागि खेल्ने छ । बुधबार एलिमिनेटरमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिष्पर्धा हुनेछ ।
तस्विरः एनपीएल






















