काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले माफी मागेकी छन् । बर्दियाको बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको र त्यसको एक महिनामै उनका ६१ वर्षीय बाबुसमेत नरहेको घटनाले मर्माहत बनाएको भन्दै प्रधानमन्त्री कार्कीले माफी मागेकी हुन् ।
प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘उहाँहरुको यो निर्णय हाम्रो समाज र राज्यका लागि ग्लानीको विषय हो। न्यायिक–प्रशासनिक झमेलाका कारण यो अवस्था निम्तिएको हो भने देशको प्रधानमन्त्रीका रुपमा म माफी चाहन्छु। र, यस घटनाको गहिराइमा पुगेर अध्ययन गर्न माननीय गृहमन्त्रीज्यूलाई निर्देशन दिएकी छु।’
उनले नागरिकतालगायत लैंगिक आधारमा हुने कुनै पनि प्रकारको विभेद र हिंसा सह्य होइन भन्दै न्यायको मार्गमा सबै पक्षले सहजीकरण गरौँ भनेर उल्लेख गरेकी छन् ।






















