काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको प्लेअफ समीकरण पूरा भएको छ । आजको खेलमा जनकपुरलाई चार विकटले हराएपछि लुम्बिनी अन्तिम टिमको रुपमा प्लेअफमा पुगेको हो । यसअघि सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्स प्लेअफमा पुगिसकेका छन् । कर्णाली याक्स यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको छ ।
आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १३२ रन बनायो । त्यसपछि १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले चार विकेटको जित निकालेको हो । लुम्बिनीले १९ ओभर एक बल खेल्दै १३६ रन बनायो । लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । डार्सी सटले ३० रन, जेजे स्मिथले २१ रन, निरोशन डिकवेलाले १७ रन जोडे ।
जनकपुरका लागि संगीत कुरेले तीन विकेट लिए । मयन यादवले दुई विकेट हात पारे ।
यता सुरुमा ब्याटिङ गरेको जनकपुरका लागि संगीत कुरेले नटआउट सर्वाधिक ४५ रन बनाए । मयन यादव २७ रन, ओपनर आशिफ शेख २० रन, सञ्जय कृष्णमूर्ति १४ रन बनाए ।
जनकपुरलाई सस्तैमा समेट्न लुम्बिनीका लागि रोहित पौडेल र शेर मल्लले समान दुई/दुई विकेट हात पार्दा रुबेन ट्रम्पपेलम्यान र जेजे स्मिथले एक/एक विकेट लिए । लुबिनीले सात खेलबाट आठ अङ्क जोडेको छ ।
तस्विरः एनपीएल






















