काठमाडौँ । बुधबार नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत एक खेल भयाे । खेलमा विराटनगर किंग्समाथि लुम्बिनी लायन्सले शानदार जित निकाल्यो । त्यसले लुम्बिनीको प्लेअफ सम्भावना कायम राखेको छ ।
टस जितेर सुरुमा बलिङ गरेको लुम्बिनीले विराटनगर किङ्सले जितका लागि दिएको एक सय ४५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा १७ ओभर चार बलमा भेट्टायाे । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४४ रन बनाएको थियो । विराटनगरका लागि लोकेश बमले ३५ रन बनाए । उनले ४२ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । यस्तै बसिर अहमदले २८, साम हिजलेटले २७, प्रतिश जिसीले ११ र मर्सेन्ट डे लन्जले १० रन बनाए । अन्तिममा एक बल खेलेका सन्दीप लामिछानेले एक छक्का हाने । ओपनिङमा आएका फाफ डुप्लेसी १२ रनमा आउट भए । बलिङमा लुम्बिनीका लागि शेर मल्लले तीन विकेट लिए । उनी प्लेयर अफ द म्याच बने । उसका लागि अविशेष गौतम, जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले एक/एक विकेट लिए ।
१४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीको जितमा डार्सी सटले अर्धशतक बनाए । ४४ बलको सामना गर्दै उनले ६ चौका र दुई छक्काको मद्दतमा ५७ रन बनाए । लुम्बिनीका लागि निरोशन डिकवेलाले २९ रन, सन्दीप जोराले २४ रन जोड्दा दिलिप नाथले १६ र सुमित महाराजनले १० रन थपे ।
विराटनगरका लागि सुवास भण्डारी र सन्दीप लामिछानेले दुई/दुई विकेट हात पार्दा बसिर अहमेदले एक विकेट हात पारे ।
यो जितसँगै ६ खेलबाट ६ अंक जोडेको लुम्बिनी तालिकाको चौथो स्थानमा उक्लिएको छ । ६ खेल खेलबाट आठ अंक बनाएको विराटनगर तालिकाको तेस्रो स्थानमा छ । यो जितसँगै लुम्बिनीको प्लेअफको सम्भावना बलियो बनेको छ ।






















