ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

वैदेशिक लगानीका तीन सय ८२ वटा उद्योग स्थापनाकाे प्रस्ताव स्वीकृत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म तीन सय ८२ वटा वैदेशिक लगानीका उद्योग स्थापना गर्नका लागि प्रस्ताव स्वीकृत भएका छन् । यो अवधिमा मात्र ३६ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता दर्ता भएको उद्योग विभागको तथ्यांक छ । यसैबीचमा विदेशी लगानीकर्ताले नाफाको अंश लैजाने रकममा पनि उच्च वृद्धि देखिएको छ । जुन कुरा नेपालका लागि नीतिगत कमजोरीको संकेतका रुपमा देखिएको छ ।

मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी गर्ने क्रम बढिरहेको देखिन्छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म तीन सय ८२ वटा वैदेशिक लगानीका उद्योग स्थापना गर्नका लागि प्रस्ताव स्वीकृत भएका छन् । यो अवधिमा मात्र ३६ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता दर्ता भएको उद्योग विभागको तथ्यांक छ ।

विभागका अनुसार दर्ता प्रक्रियामा अटोमेटिक रुट प्रयोग गर्ने उद्योगको संख्या तीव्र रूपमा बढेको छ । कुल दर्तामध्ये २५१ उद्योग अटोमेटिक रुटबाट स्वीकृत भएका छन् । जहाँ प्रणालीले नै डकुमेन्ट जाँचेर अनुमोदन गर्छ । बाँकी १३१ उद्योग भने अनलाइनबाट आवेदन आए पनि विभागका कर्मचारीले फाइल परीक्षण गरी स्वीकृति दिएका हुन् । चार महिनाको तथ्यांक अनुसार नेपालमा भित्रिएका उद्योगमध्ये ७ ठूला, ६ मध्यम र ३६९ साना उद्योग छन् । दर्ताको आधारमा हेर्दा ५४ प्रतिशत उद्योग सूचना प्रविधि आईटी क्षेत्रका छन् ।

यस्तै पर्यटन ३१ प्रतिशत, उत्पादन ६ प्रतिशत, सेवा ६ प्रतिशत, ऊर्जा १ प्रतिशत र खानी क्षेत्र १ प्रतिशत रहेको विभागको तथ्यांक छ । तर रकम प्रतिवद्धताको हिसाबले चित्र फरक देखिन्छ । कृषिमा सबैभन्दा धेरै ६० प्रतिशत लगानी प्रतिवद्धता आएको छ भने पर्यटनमा २४ प्रतिशत छ । आईटी क्षेत्रमा भने कुल लगानी प्रतिबद्धता मात्र २ प्रतिशत छ । लगानी रकमका आधारमा कृषिमूलक उद्योगमा २१ अर्ब ८८ करोड, पर्यटनमा ८ अर्ब ९४ करोड, सेवामा ३ अर्ब, र उत्पादनमूलक उद्योगमा १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता रहेको छ ।

यसैबीच, विदेशी लगानीकर्ता नेपाल आउने संख्या भने घट्ने क्रममा देखिएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा एक हजार २० विदेशी लगानीकर्ता नेपाल आएका थिए भने चालु वर्ष सोही अवधिमा ७७१ मात्र आएका छन् । कम्पनी प्रतिनिधिका रूपमा आउने अनुमतिमा पनि कमी आएको छ । गत वर्ष २०५ जनाले अनुमति लिए पनि यो वर्ष १२२ जनाले मात्र प्रवेश अनुमति प्राप्त गरेका छन् ।

यद्यपि लगानीकर्ताले नेपालबाट रोयल्टी तथा नाफा लैजाने रकम भने उल्लेख्य रूपमा बढेको छ । रोयल्टी शीर्षकमा लगानीकर्ताले यस वर्ष १ अर्ब ८ करोड रुपैयाँ फिर्ता लगेका छन् । जुन गत वर्षको ३८ करोड रुपैयाँभन्दा धेरै हो । नाफाको अंशबाट लगानीकर्ताले लैजाने रकम पनि प्रचण्ड रूपमा बढेको छ । गत वर्ष ६ करोड ७० लाख रुपैयाँ मात्र नाफा फिर्ता लगाइएकोमा चालु आर्थिक वर्षका चार महिनामै २ अर्ब ९० करोड रुपैयाँ विदेशिएको छ । समग्रमा, उद्योग दर्ता र लगानी प्रतिबद्धता सकारात्मक देखिए पनि विदेशी लगानीकर्ता आगमन घट्नु र नाफा रोयल्टी बाहिरिने रकम बढ्नु नेपालका लागि नीतिगत कमजोरीको संकेत बन्न सक्ने देखिएको छ ।

Health Tips Ad Road Block