विराटनगर । एनपीएल सिजन २ का लागि विराटनगर किंग्स र पीएलओ ग्रुपबीच स्पोन्सरशिप सम्झौता भएको छ। विराटचोकस्थित नेपालीरिका होटेलमा आयोजित एक कार्यक्रमका बीच सम्झौतामा औपचारिक हस्ताक्षर गरिएको हो।
पहिलो सिजनमै विराटनगर किंग्ससँग सहकार्य गरेको पीएलओ ग्रुपले यस सिजनमा पनि निरन्तर साथ दिने घोषणा गरेको छ। सम्झौतामा विराटनगर किंग्सका तर्फबाट टिम मालिक पारस लुनिया, नारायण मुन्दडा र सुयश प्याकुरेल उपस्थित थिए भने पीएलओ ग्रुपबाट भोलेश्वर दुलाल र आकाश दुलालको उपस्थिति रहेको थियो।
कार्यक्रममा पीएलओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलालले विराटनगर किंग्सलाई आगामी सिजनहरूमा पनि निरन्तर सहयोग र साथ प्रदान गर्ने प्रतिबद्धता जनाए। उनले विराटनगर किंग्सको टिमले कोशी प्रदेशको नै गौरव बढाइरहेको उल्लेख गरे।
त्यस्तै विराटनगर किंग्सका टिम मालिक पारस लुनियाले क्रिकेटले देशका युवाहरूलाई एकतामा बाँध्ने काम गरिरहेको र एनपीएलले नेपाली खेलाडीहरूमा नयाँ उत्साह र उर्जा भरेको बताएका थिए।






















