Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एमसिए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दाँया–बाँया संरचना बनाउन र रुख रोप्न नपाइने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सरकारले एमसिए–नेपालले निर्माण गर्ने ४०० केभी विद्युत् प्रसारणलाइन विस्तारका क्रममा नवलपरासी, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट र मकवानपुर जिल्लास्थित सो प्रसारणलाइनको मध्यरेखाबाट २३–२३ मिटर दायाँ र बायाँका करिब एक हजार ३८१ हेक्टर क्षेत्रफलको जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रूख रोप्न नपाइने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको यही कार्तिक २४ गतेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो जानकारी दिएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत विभिन्न निकायमा अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रालयअन्तर्गत काठमाडौँको कान्तिबाल अस्पताल र स्वास्थ्य बीमा बोर्ड तथा धनगढीको गेटा अस्पताल, बाँके खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र डडेल्धुराको डडेल्धुरा अस्पतालका लागि दरबन्दी स्वीकृत गरिएको हो ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टङ्कप्रसाद बारकोटीले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । यसैगरी मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्न र सुरेन्द्र लाभ कर्ण, धनुषालाई प्रदेश प्रमुखमा नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चारमन्त्री खरेलले जानकारी दिए । बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको सरकारले भूउपयोग–तेस्रो संशोधन) नियमावली, २०८२ पनि स्वीकृत गरेको छ । बैठकले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा वरिष्ठतम् अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बढुवा गर्ने निर्णय गरेको छ । साविक रेशमखेती विकास कार्यक्रम धनकुटाको नाममा रहेको धनकुटा नगरपालिका–७ स्थित २५ रोपनी चार आना तीन पैसा जग्गा प्रादेशिक अस्पताल निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको छ ।

यसैगरी आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको छ । नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णयसहित नेपाली सेनाद्वारा सञ्चालन हुने तालिम सहयोगका लागि नेपाली सेना र ‘अफिस अफ डिफेन्स कोअपरेसन’, अमेरिकी राजदूतावासबीच सम्पन्न भएको समझदारीपत्रको अवधि दुई वर्ष थप गर्न स्वीकृति दिएको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले भारतको विशाखापटनम्मा यही कार्तिक २८ देखि २९ गतेसम्म आयोजना हुने ३०औँ ‘पार्टनरसिप समिट’ २०२५ मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हालाई स्वीकृति प्रदान गरेको छ ।

यस्तै आगामी मङ्सिर ८ देखि १२ गतेसम्म अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने ‘आइएइए स्कुल अन न्युक्लियर एन्ड रेडियोलोजिकल लिडरसिप फर सेफ्टी एन्ड फर न्युक्लियर सेक्युरिटी’ कार्यक्रममा विज्ञान प्रविधि सचिव विश्वबन्धु पुडासैनीलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री खरेलले जानकारी दिए ।

Health Tips Ad Road Block