काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लाष्टिक, प्लाष्टिकजन्य वस्तु र फोहर बाल्न रोक लगाएको जनाएको छ । चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य बस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको जनाउँदै यस्ता बस्तु बाल्न रोक लगाइएको हो ।
जाडो महिनामा काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढ्ने गरेको छ । प्रदुषण बढ्नमा यसरी खुला रुपमा बालिने बस्तुको महत्वपूर्ण हिस्सा छ । विभागका प्रमुख सरिता राई भन्छन्, ‘जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकुल असर घटाउन यसप्रकारको निर्णय गरिएको हो ।’
वायु प्रदूषणले बालबालिका, जेष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिहरुलाई बढी असर गर्छ । ती व्यक्तिहरुसँगै शहरबासी सबैको स्वास्थ्य र वातावरण जोगाउन खुला रुपमा बस्तु बालेर धुँवा उत्सर्जन घटाउनुपर्छ । राई भन्छन्, ‘महानगरपालिकाले जारी गरेको प्रतिबन्ध सम्बन्धी अनुरोध कसैले अटेर गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुनेछ ।’
यस व्यवस्था बमोजिम प्रतिपटक १० हजार रुपैयाँ जरिवाना हुनेछ ।






















