skip this News Page Tips Ad Road Block

दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकैरुपमा अगाडि बढाइने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशका महत्वपूर्ण सार्जजनिक स्थलहरुमा निःशूल्क वाइफाइ इन्टरनेट सेवा विस्तारका लागि सरकार प्रतिवद्धताका साथ लागि परेको बताएका छन् । काठमाडौँका महत्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै मन्त्री खरेलले सङ्घीय राजधानी काठमाडौँका संवेदनशिल र महत्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच विस्तारका लागि अभियानकै रुपमा निरन्तर काम गरिने विश्वास व्यक्त गरे ।

मन्त्री खरेलले १९ वटा सार्वजनिक स्थलनमा निःशुल्क वाईफाई इन्टरनेट पुर्याउन सफल भएको बताउँदै अब दुर्गम क्षेत्रका महत्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच विस्तार गरिने बताए । उनले भने, “काठमाडौँको १९ महत्वपूर्ण सार्वजनिक र संवेदनशिल क्षेत्रमा निःशुल्क इन्टरनेट विस्तार गर्यौ‌ं । यसलगत्तै हाम्रो अभियान मुलुकको इन्टरनेट पहुँचको हिसावले अत्यन्तै दुर्गम मानिएका सोलुखुम्बु, रामेछाप, रौतहट, गुल्मी, म्याग्दी, जुम्ला, वैतडीलगायत जिल्लाका महत्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ इन्टरनेट पुर्याउने लक्ष्यअनुरुप काम अगाडि बढाइएको छ ।”

सेवा विस्तारका लागि नियामक नेपाल दूरसञ्चार प्राधिकरण लागि परेको छ । यसका साथै देशका अन्य महत्वपूर्ण शहर ‘जहाँ जहाँ निःशुल्क वाईफाई आवश्यक पर्छ’ त्यहाँ क्रमशः विस्तार गर्दै जाने योजना रहेको छ । प्राधिकरणको अग्रसरतामा नेपालटेलिकम, निजी क्षेत्रका एनसेल, वल्र्डलिंक, भायनेटलगायतसँग समन्वय र सहकार्य साथै समुदायको समेत साझेदारीमा यसलाई अगाडि बढाइनेछ ।

सञ्चारमन्त्री खरेलले डेढ महिनाको अवधिमा दूरदराजमा हामीले छोडेका छैनौं, शुरुका दिनदेखि इन्टरनेटको पहुँच नपुगेका तीनवटा पालिका दार्चुलाको मार्मा, बझाङको तलकोट, मनाङको तिलिचो आधार शिविरमा टेलिकमको फोरजी सेवा विस्तार भएको जानकारी दिए । उनले लाईसेन्स लिने स्थान यतायात व्यवस्था कार्यालय काठमाडौँको ठूलोभर्याङ, ललितपुरको एकान्तकुना, भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा निःशुल्क वाइफाई जडानको काम भइरहेको छ ।

सञ्चारमन्त्री खरेल, मन्त्रालयका सचिव राधिका अर्यालसहितको टोलीले निःशुल्क वाइफाइ इन्टरनेट विस्तारको निरीक्षण गरेका हुन् । मन्त्री खरेलले नयाँ बसपार्क, टिचिङ हस्पिटल, पशुपति परिसरको आर्यघाट र त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पुगी सरकारले निशुल्क उपलव्ध गराएको इन्टरनेश सेवाको लगइन गरी चेक जाँच गरे ।

गत असोज ६ गते सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा नियुक्त भएपछि मन्त्री खरेलले मन्त्रालयमा पदभार ग्रहणका क्रममा आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्दै दुई महिनाभित्र काठमाडौँ उपत्यकाका महत्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णय गरेका थिए । डेढ महिनाको अवधिमा नै निर्णय कार्यान्वयनमा आएको छ । उपत्यका बाहिरका महत्वपूर्ण दस वटा शहरमा पनि निःशुल्क वाईफाइको पहुँच पुर्याउने काम अघि बढेको छ ।

नयाँ बसपार्क, केही अस्पताल, पशुपति क्षेत्र परिसर, विमानस्थल, संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रबाहको क्षेत्रमा निःशुल्क वाइफाइ विस्तार गरिएको हो । पाँच वटा स्थानमा नयाँ स्थापना र (निर्माणाधीन तीन) सहित आठ स्थानमा नयाँ स्थापना गरिएको छ । पहिला वाईफाई स्थापना भइसकेका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमतार विस्तार गरिएको छ । निःशुल्क वाइफाइको निरन्तरता र दिगोपनाका लागि नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले निःशुल्क वाइफाइ इन्टरनेट सेवाका लागि सहकार्य गर्ने जनाएका छन् ।

सञ्चारमन्त्री खरेलको विशेष सक्रियतमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायक कम्पनीसँगको समन्वयमा निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच विस्तार गरेको हो ।

प्राधिकरणका अनुसार यसअघि वीर अस्पताल, परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, सहिद धर्मभक्त माथेमा राष्ट्रिय उपचार केन्द्र र पशुपति मन्दिर परिसरमा १० एमबिपिएस ब्याण्डविथलाई बढाएर १५० एमबिपिएस बनाइएको छ । ती क्षेत्रमा प्रत्येक डिभाइसका लागि १०० एमबीबाट बढाएर ५०० एमबी बनाइएको छ । त्यसैगरी नेपाल टेलिकमले काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित ३५ विमानस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्ने कार्ययोजना बनाएको छ ।

भक्तपुर क्यान्सर अस्पतालमा छ वटा एक्सेस प्वाइन्ट र कीर्तिपुर अस्पतालमा पाँच वटा एक्सेस प्वाइन्टसहित नयाँ वाइफाइ सेवा उपलब्ध गराइएको छ । निरीक्षणका क्रममा मन्त्री खरलले उपत्यकाका विभिन्न सार्वजनिक स्थलपछि दुर्गम क्षेत्रमा निशुल्क इन्टरनेट सेवा पुर्याउने गरी सरकारले काम गरिरहेको जानकारी दिए । मन्त्री खरेलले निःशुल्क सेवा सेवाको नाममात्रै हैन साच्चिकै प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिए । उनले उपलब्ध निःशुल्क वाइफाइ सेवाको अनुगमन गरिने बताए ।

सञ्चारमन्त्री खरेलको विशेष सक्रियतमा नियामक नेपाल दूर सञ्चार प्राधिकरणले सेवाप्रदायक कम्पनीसँगको समन्वयमा निःशुल्क वाइफाइको पहुँच विस्तार गरेको हो ।

प्राधिकरणका अनुसार १३ अस्पताल, आर्यघाट, विमानस्थल, नयाँ वसपार्कमा समान एक र तीन स्थानका यातायात व्यवस्था कार्यालय गरी १९ स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराइएको छ ।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले सेवाग्राहीको सन्तुष्टिलाई हेरेर आगामी दिनमा इन्टरनेटको क्षमता विस्तार गरिँदै लैजाने बताए । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले नयाँ बसपार्क, विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार गरिएको जानकारी दिए । उनका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ जडान गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक हंशराज पाण्डेले विमानस्थलमा निःशुल्क वाइफाइ सेवा सञ्चालनमा आएसँगै यात्रु एवं सर्वसाधरणलाई सूचना प्रबाहलगायतमा सहज हुने बताए । पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुवासचन्द्र जोशीले मानिसको जन्मसंस्कारदेखि मृत्युसंस्कारसम्मको धार्मिक कार्यहरु हुने पवित्र पाशुपत क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेटको माध्यमबाट सम्पर्क विस्तार र सूचना प्रबाहमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Health Tips Ad Road Block