काठमाडौं । विश्वव्यापी निर्माण क्षेत्रले हालको निर्माण सामाग्रि सिमेन्ट, इँटा, र फलामकाे प्रयाेगकाे क्रम जारी राखे सन् २०५० सम्म कार्बन उत्सर्जन दोब्बर हुने चेतावनी नयाँ अन्तर्राष्ट्रिय अध्ययनले दिएको छ। अध्ययनले यस्ता सामग्रीकाे प्रयाेगकाे मात्रा कम नभए विश्व तापक्रमलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्ने पेरिस सम्झौताका जलवायु लक्ष्यहरूलाई गम्भीर जोखिममा पार्नेछ।
कार्बन उत्सर्जन बढाउने सिमेन्ट र फलामको प्रयोग
यस अध्ययनका प्रमुख लेखक चाओहुई ली भन्छिन्, २०२२ मा, निर्माण उद्योगको ५५ प्रतिशत कार्बन उत्सर्जन सिमेन्ट, इँटा र फलाम जस्ता सामग्रीबाट आएको पाइयो। ६ प्रतिशत उत्सर्जन गिलास, प्लास्टिक, रासायनिक तथा जैव–आधारित सामग्रीहरूबाट आएको थियो भने, बाँकी ३७ प्रतिशत यातायात, सेवा, मेसिनरी र निर्माणस्थलका गतिविधिबाट आएको थियो ।
उत्सर्जन पछिल्ला वर्षहरुमा विकसित देशहरूबाट विकासोन्मुख देशहरूतर्फ सरेको छ। चीन र भारतले अहिले विश्व उत्सर्जनको ठूलो हिस्सा ओगटिरहेका छन्। १९९५ मा धनी देशहरूले आधा निर्माण उत्सर्जन उत्पादन गर्थे, तर २०२२ सम्म आइपुग्दा ती देशहरूमा उत्सर्जन स्थिर भएको छ भने विकासोन्मुख देशहरूमा स्टिल र सिमेन्टजस्ता कार्बन–घनत्व भएका सामग्रीमा निर्भरता बढ्दै गएको छ।
अक्टोबर ३१ मा संयुक्त राष्ट्रसंघको विश्व शहर दिवस मनाइँदै गर्दा प्रकाशित याे अध्ययनले नेपालमा जस्तै परम्परागत रुपमा माटो, ढुंगा, बाँस र काठजस्ता सामग्रीकाे परिमार्जित प्रयाेग नै यसकाे मुल विकल्प रहेकाे बताएकाे छ ।
तर नेपालमा सिमेन्ट र आरसीसी (RCC) संरचना प्रयोग गरेर घर बनाउने प्रवृत्ति तीव्र गतिमा बढेको देखिएको छ। राष्ट्रिय जनगणना २०२१ का अनुसार नेपालका ३३ प्रतिशत घर अझै माटो र ढुंगाबाट बनेका छन्, तर पछिल्ला १० वर्षमा सिमेन्ट र पिलरसहितका घरमा उल्लेख्य वृद्धि भएको छ । सन् २०११ मा आरसीसी ढलान भएका घर १८ प्रतिशत मात्रै रहेका थिए भने अहिले ३० प्रतिशत पुगेका छन्। त्यस्तै ५२.२ प्रतिशत घरको गारो सिमेन्ट जडित इँटा वा ढुंगाबाट बनेको छ।
ग्रोनिङ्गन विश्वविद्यालय (नेदरल्यान्ड्स) का सह–लेखक प्रजल प्रधान भन्छन्, “नेपालमा पनि स्थानीय रूपमा उपलब्ध परम्परागत निर्माण प्रविधि प्रयोग नगरेसम्म, सहर विस्तारले जलवायु लक्ष्यमा ठुलो असर पार्नेछ।” प्रधानका अनुसार नेपालमा माटो, ढुंगा, बाँस र काठजस्ता परम्परागत सामग्रीले न केवल कार्बन कम गर्छन्, यसले स्थानीय रोजगारी, सौन्दर्य र हरित अर्थतन्त्रमा पनि योगदान दिन्छन्। नेपालका शहरी योजना, निर्माण संहिता र लगानी नीतिहरूमा जैविक सामग्रीलाई प्राथमिकता दिन जरुरी छ।
अध्ययनका सह–लेखक, याेर्गेन क्रप, बावस अर्थका अनुसार निर्माण क्षेत्रको चुनौती र समाधानहरू विश्वभर समान छैनन्। ठूला परिवर्तन गर्नका लागि जैविक सामाग्रिहरुकाे सम्पूर्ण आपूर्तिशृंखला (supply chain) स्तरमै संरचनागत रूपान्तरण आवश्यक छ । जसले सिमेन्ट, फलाम, इँटाजस्ता कार्बन उत्सर्जन सामग्रीको सट्टा नयाँ विकल्पहरूकाे मार्ग खोल्छ।”
याेर्गेनका अनुसार धनी मुलुकहरूले डिजाइनमा सुधार गर्ने , र कडा नियमनमार्फत नेतृत्व लिनु पर्ने हो भने, विकासोन्मुख देशहरूले — जहाँ नयाँ निर्माण तीव्र गतिमा भइरहेको छ। वित्तीय र प्रविधिगत सहयोगका साथ सीधै दिगो निर्माण अभ्यासतर्फ चासाे बढाउनु पर्नेछ।
यदि यस्तो निर्माण सामाग्रीमा रूपान्तरण तत्काल सुरु भएन भने निर्माण क्षेत्रले मात्रै अर्को दुई दशकभित्र लक्ष्यको सम्पूर्ण कार्बन बजेट खर्च गर्न सक्छ। त्यसैले कम–कार्बन सामग्रीको विस्तार र निर्माण प्रणाली पुनःडिजाइन गर्न विश्वव्यापी सहकार्य अपरिहार्य छ।
यासाका निर्देशक ह्यान्स जोआखिम (जोन) सेल्नह्यूबर भन्छन्, “मानवजातीले फलाम र सिमेन्टले आफैंलाई एउटा कुनामा थुनेको छ । यदि हामीले पेरिस सम्झौताका लक्ष्यहरू पूरा गर्न चाह्यौं भने, हामीले शहरहरू बनाउने सामाग्री नै पुनःआविष्कार गर्नुपर्छ। नवप्रवर्तन र सहकार्यमा आधारित एउटा विश्वव्यापी निर्माण सामग्री क्रान्त्रि गरेर यस क्षेत्रलाई जलवायु समस्याबाट समाधानको आधारमा रूपान्तरण गर्न सक्छ।”






















