काठमाडौँ । अक्टोबर २९ अर्थात् आज विश्वभर विश्व पक्षघात (मस्तिष्कघात) दिवस मनाइएको छ । ‘प्रत्येक मिनेट गणना’ भन्ने मूल नाराका साथ बुधबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा मस्तिष्कघात सम्बन्धी अन्तक्र्रिया तथा सचेतनामुलक हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।
उक्त प्रतियोगितामा अस्पतालका डाक्टर, नर्स र कर्मचारीले सहभागीता जनाएका थिए। प्रतियोेगितामा मस्तिष्कघात सचेतनासम्बन्धी विभिन्न खालका प्रश्नहरु सोधिएको थियो ।
ग्राण्डी अस्पतालले मस्तिष्कघातको क्षेत्रमा सफल उपचार गरेवापत भर्खरै विश्व स्ट्रोक सङ्गठनबाट ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता समेत प्राप्त गरेको छ । ग्राण्डी अस्पताल ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता प्राप्त गर्ने नेपालको पहिलो अस्पताल हो ।
नेपालमा प्रत्येक १० मीनेटमा एक जनालाई मस्तिष्कघात हुने गरेको छ । नेपाल मस्तिष्कघात सङ्घले गरेको अध्ययनमा प्रत्येक वर्ष नेपालमा मस्तिष्कघातका कारण ५० हजारदेखि ६० हजार मानिस प्रभावित हुने र १० मीनेटमा एक जनालाई मस्तिष्कघात हुने गरेको हो ।
नेपाल मस्तिष्कघात सङ्घका निवर्तमान अध्यक्ष एवम् ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट डा. राजु पौडेलले नेपालमा प्रत्येक १० मीनेटमा एकजनामा मस्तिष्कघात हुने गरेको बताए ।
“एक जटिल शारीरिक अवस्थाको रुपमा रहेको मस्तिष्कघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै मस्तिष्कघात भनिन्छ । समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ,” डा. पौडेलले भने ।
नेपालमा मस्तिष्कघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्न सन् २०१७ मा नेपाल पक्षघात (मस्तिष्कघात) सङ्घ स्थापना गरी विभिन्न कार्यक्रम गरिँदै आइरहेको छ । डा पौडेल.ले मस्तिष्कघातको उपचारका लागि सङ्घले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नाका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको बताए । उक्त सङ्घले भर्खरै विश्वका एक दर्जन बढी मुलुकका ५०० बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थितीमा ‘हिमालय अन्तर्र्राष्ट्रिय मस्तिष्कघात सम्मेलन’ समेत आयोजना गरेको थियो ।
उक्त सङ्घले जर्मनीको हैदेलवर्ग युनिभर्सिटीको सहयोगमा नेपाल मस्तिष्कघात परियोजनासँग सहकार्य गरी काम गर्दै आएको छ । यस्तै जिआइजेड, विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थासँगको सहकार्यमा नेपालको मस्तिष्कघात सम्बन्धी गाईडलाइन तय गर्ने काम गरेको डा. पौडेलले बताए । सङ्घले मस्तिष्कघात सम्बन्धी निर्देशिका निर्माण गरी सरकारलाई समेत बुझाइसकेको छ । यस्तै देशभरका अस्पतालको मस्तिष्कघातको अवस्थाबारे सूचीकरण गर्ने, बिरामीको अवस्थाबारे जानकारी राख्नेलगायतका काम समेत सङ्घले गरेको छ ।
डा. पौडेलले मस्तिष्कघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताए । “विश्वमा हरेक चारजनामा एक जनालाई र तीन सेकेन्डमा एकजनालाई पक्षाघातको सम्भावना हुन्छ, यसबाट सजग हुनुपर्छ”, उनले भने ।
विश्वभर प्रत्येक वर्ष मस्तिष्कघातका कारण एक करोड २० लाख मानिस प्रभावित हुँदै आएका छन् । प्रभावितमध्ये ५० प्रतिशतको मस्तिष्कघातका कारण मृत्यु हुने गरेको डा. पौडेल बताउँछन् । विश्वभर मस्तिष्कघात भएकामध्ये १० करोडभन्दा बढीले पुर्नजीवन पाएका छन् ।
नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा मस्तिष्कघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको उनको भनाई छ । नेपालमा अहिले मस्तिष्कघात भएकामध्ये १५ देखि २० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क रहेको डा. पौडेलले बताए ।
ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले मस्तिष्कघात उपचारमा ग्राण्डी अस्पताल नेपालकै पहिलो अस्पतालको रुपमा विश्वस्तरिय मान्यता पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा यसको गुणस्तर कायम राखिराख्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले मस्तिष्कघात उपचारमा विश्वस्तरीय सुविधा नेपालमै प्राप्त गर्नु ग्राण्डी र आम विरामीका लागि गौरवको विषय भएको उल्लेख गरे ।





















