काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान संकटको समाधानका लागि नयाँ मार्गचित्र प्रस्तुत गरेका छन् । उनले ६ बुँदे नयाँ मार्गचित्र प्रस्तुत गरेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) को टोलीसँगकाे छलफलमा उनले यस्तो बताएका हुन् । उनको मार्गचित्रमा विघटित प्रतिनिधिसभा पुनर्स्थापना पहिलो बुँदा रहेको छ । उनले फागुन २१ कै घोषित मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव भएको पनि बताएका छन् ।
यस्तो छ ओलीको ६ बुँदे नयाँ मार्गचित्रः
१. असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभाको पुनर्स्थापना ।
२. प्रतिनिधिसभाबाट तुरुन्तै संविधान संशोधन गरी संसद् सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरुको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था ।
३. जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूद्वारा पुनः प्रधानमन्त्रीको दाबी नगरिने स्पष्ट ।
४. जेन–जीसहितको सहभागितामा सर्वदलीय–सर्वपक्षीय सरकार गठन ।
५. उक्त सरकारद्वारा तीन महिनाभित्र निर्वाचन । त्यसो गर्दा फागुन २१ कै घोषित मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव ।
६. संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन यी सबै कामको सुनिश्चितताका लागि राजनाीतिक दलहरुबीच अग्रिम सहमति निर्माण ।






















