काठमाडौं । गत बुधबारदेखि ओमानमा सुरु आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट अन्तर्गतको दोस्रो खेलमा नेपालले आज निर्णायक भिडन्त गर्दैछ ।
नेपाली समय अनुसार साँझ ४ः१५ मा शुरु हुने सो खेलमा नेपाल समूह ‘बी’ मा शिर्ष स्थान सुरक्षित गर्न खेल्न लागेको हो । गत बुधबारको खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको थियो भने बिहीबार भएको कुवेतविरुद्धको खेलमा जापानले ५ विकेटको जित हासिल गरेसँगै नेपाल र जापान दुवै टोली सुपर सिक्समा पुगिसकेका छन् । त्यसैले आज नेपाल र जापानबीचको भिडन्त समूह विजेताको लागि हुने छ ।
रोहितकुमार पौडेल नेतृत्वको नेपाली टोलीले आज जापानसँग पहिलो पटक खेल्न लागेको हो । नेपालले यसअघि दुई पटक विश्वकप खेलिसकेको र याे खेलले विश्वकपको यात्राकाे दिशा तय गर्नेछ ।






















