ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

पशु बलीको पक्ष र विपक्षमा बहस, परम्परा र संस्कृतिबारे मिश्रित प्रतिक्रिया

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रत्येक वर्ष नवरात्र शुरु भएपछि बली प्रथाको पक्ष र विपक्षमा बहस चर्कन्छ, एक थरीले बलि शास्त्रसम्मत भएको दाबी गर्दछन् भने अर्का थरीले विरुद्धमा रहेको विचार राख्छन् । मांस आहार गर्नेले देवतालाई चढाउने नाममा बली प्रथालाई प्रश्रय दिएको अथ्र्याइन्छ । तर बली प्रथा शास्त्रसम्मत हो भन्नेहरूले वर्षभर विभिन्न नाममा काटिने पशुको विरोध नगरी बली प्रथाको विरोध गर्नु शंकास्पद भएको तर्क गर्छन् । यसैगरी हरेक वर्ष बली प्रथाको विरोध र समर्थन हुने गर्दछ ।

दशैंको मुख्य दिनहरुमा वर्षैपिच्छे पशु बलीको पक्ष र विपक्षमा बहस गर्ने क्रम दोहोरिन्छ । पशु बलीका पक्षधर पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रीय रहेको बताउँछन् । बलीको विपक्षमा रहनेले देवी माता भएकाले सन्तानको बलि नखाने बताउँछन् । गृहस्थाश्रममा बसेर सुख सुविधा भोग गर्नेले अनिवार्य बली दिनुपर्ने शास्त्रीय मान्यता रहेको कतिपयको दाबी छ । मासु खानेका लागि पशुको मुक्तिका लागि विधिपूर्वक बली दिनु शास्त्रीय परम्परा रहेको एकाथरी संस्कृतिविद्को धारणा रहँदै आएको छ । देवीदेवतालाई दिइने बली प्रसादका रुपमा कसैले मांस आहार गर्दछन् भने त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने उनीहरुको तर्क छ । दुर्जनबाट लोक रक्षाका लागि देवीलाई बलियो बनाउनुपर्छ भन्ने शास्त्रीय मान्यताका आधारमा बलीप्रथाको सुरुवात भएको उनीहरुको भनाइ छ ।

तर यही बली प्रथाको विरोध गर्नेहरु पनि छन् । काम, क्रोध, लोभ, मोह र अहंकार पाँच खराब प्रवृत्तिलाई पञ्चबलीका रूपमा त्याग्ने परम्परा रहेकाले पशु बली दिइनु गलत भएको कतिपयको तर्क छ । बली प्रथाको विरोधमा अभियान चलाइ रहेका संस्कृतिविद्हरुले शुक्ल यजुर्वेदमा ‘पशून् मा हिंसात् सर्वाणि भूतानि’ अर्थात् पशुलाई पनि अन्य जीव सरह मान, हिंसा नगर भनेकाले पशु बली शास्त्र विरुद्ध रहेको बताउँदै आएका छन् । एक किलो मासुका लागि १६ किलो अन्न र पाँच लिटर पानी नष्ट हुँदा ‘इको सिस्टम’ नै बिग्रिएको, अक्सिजन कम भएको र जंगल सखाप हुने गरेको बताइन्छ । शान्तिका नायक गौतम बुद्ध जन्मिएको नेपालमा पशु बली प्रथा नसुहाउने उनीहरुको भनाइ रहँदै आएको छ ।

परम्परा र संस्कृतिबारे मिश्रित प्रतिक्रिया आउनु स्वभाविक नै हो । धर्म, जात, परम्परा र संस्कृतिअनुसार मानिसको विचार पनि फरक हुन सक्छ । त्यसैले यस्ता विषयमा धेरै विवाद झिक्नु उचित नहोला की ?

Health Tips Ad Road Block