Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मनाङ जिल्लाका अत्यन्तै दुर्गम र विकट स्थानहरुमा टेलिकमको फोरजी सेवा विस्तार

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल टेलिकमले हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ जिल्लाका भूधरातलीय तथा भौगोलिक हिसाबले अत्यन्तै दुर्गम र विकट स्थानहरुमा नयाँ बीटीएस स्थापना गरी मोबाइल सेवाको सञ्चालन तथा कतिपय स्थानहरुमा गुणस्तर अभिवृद्धिको कार्य सम्पन्न गरेको छ । विगत लामो समयदेखि गाउँपालिकाको वडा नं.१ पिसाङ, वडा नं.३ ङावल, वडा नं.८ टंकी मनाङ र वडा नं.९ खाङसारमा भिएसएटी प्रविधिबाट टुजी सेवा सञ्चालन हुँदै आएकोमा उक्त क्षेत्र पर्यटकीय दृष्टिकोणले समेत अत्यन्तै महत्वपूर्ण क्षेत्र भएको र पर्यटकका साथसाथै स्थानीय तथा व्यवसायीहरुको चापका कारण भिएसएटी प्रविधिबाट गुणस्तरीय सेवा प्रवाह गर्न कठिनाई महसुस भएपश्चात् ग्राहकहरुको मागलाई ध्यानमा राख्दै यही असोज ४ गतेदेखि कम्पनीले फोरजी सेवा सञ्चालनमा ल्याएको जनाएको छ । भौगोलिक विकटताका कारणले रेडियो लिंकबाट समेत सेवा सञ्चालन गर्न नसकिएको अवस्थामा बेँसीसहर खाङसार एडीडीएस लिंक सञ्चालन भएपछि उक्त क्षेत्रमा फोरजी मोबाइल सेवा सञ्चालन सम्भव भएको हो । यसका साथै तिलिचो बेस क्याम्प र थोरोङफेदीमा पनि निकट भविष्यमा फोरजी मोबाइल सेवा सञ्चालनका लागि प्रक्रिया अघि बढिसकेको टेलिकमले जनाएको छ ।

चामे गाउँपालिका३ स्थित कोटोगाउँमा मोबाइल नेटवर्कको कभरेज रामो नभएको गुनासोलाई सम्बोधन गर्न सेवाको गुणस्तरका सम्बन्धमा स्थानीय वासिन्दा तथा हाइड्रोपावर क्षेत्रमा काम गर्ने सयौं ग्राहकको मागलाई ध्यानमा राख्दै नयाँ बीटीएस स्थापना गरी यही आश्विन १ गतेदेखि टूजी र फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याइएको हो ।

यसैगरी नासोङ गाउँपालिका वडा नं.१ तालगाउँमा टूजी र फोरजी सेवाप्रवाह हुँदै आएकोमा आश्विन ५ गतेदेखि फोरजी सेवा थप गरी सञ्चालनमा ल्याइएको छ । यस स्थानमा थप गरिएको फोरजी सेवाको बीटीएसले लमजुङ जिल्लाको उत्तरी खण्डको च्याम्चे क्षेत्रलाई समेत कभरेज गर्ने टेलिकमको भनाइ छ ।

मनाङ जिल्लाका धेरै स्थानमा सेवाको स्तरोन्नतीका साथै नयाँ सेवा सञ्चालनमा आएसँगै नार्पाभूमी गाउँपालिका बाहेकका अन्य सम्पूर्ण पालिकाहरुमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवा पुगेको छ । नार्पाभूमीका नार र फू गाउँ तथा नासोङ गाउँपालिकाको भिम्थाङ कोठी गाउँमा भने भएएसएटी प्रणालीबाट सेवा सञ्चालन भैरहेको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

Health Tips Ad Road Block