Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आन्दोलनका कारण ट्राफिकले नियन्त्रणमा लिएका बिलबुक लगायतका कागजात नष्ट हुँदा यातायात व्यवसायीलाई समस्या

सहजता गरिदिन ट्रक महासंघको माग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । हालै जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा मुलुकभरका विभिन्न प्रहरी कार्यालय, सरकारी निकाय र यातायातसम्बन्धी संरचनामा आगजनी भई ठूलो क्षति पुगेको छ। यस क्रममा ट्राफिक प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिएका सवारी साधनका बिलबुक, रोड परमिट, जाँचपासलगायत कागजात पनि जलेर नष्ट भएको व्यवसायीहरूले बताएका छन्।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँका अनुसार कागजात नष्ट भइसकेका कारण व्यवसायीहरू थप समस्यामा पर्न थालेका छन्।

त्यसैले यस्ता पीडित व्यवसायीलाई आवश्यक सहजीकरण गर्न र अनावश्यक दुःखकष्ट नदिन विभाग र सम्बन्धित निकायसँग महासंघले आग्रह गरेको छ। यता प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागकै संरचना, इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुगेपछि विभागका सूचना प्रविधिसम्बन्धी प्रणाली ठप्प बनेका छन्।

विभागले यसले गर्दा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र विद्युतीय सवारी दर्ता सेवा अवरुद्ध भएको जनाएको छ। महासंघले विभागका महानिर्देशकसँग सम्पर्क गर्दा हाल विभागको भौतिक संरचना र प्रविधि पुनःसञ्चालन नआएसम्म काम गर्न कठिनाइ हुने जानकारी पाएको छ।

यद्यपि व्यवसायीलाई सहज वातावरण दिन सातै प्रदेशका यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई आवश्यक सहयोग र सहजीकरण गर्न महासंघले जोड दिएको छ।

यस्तै महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवराज शर्मासँगको छलफलमा समेत यो समस्या तत्काल समाधान गर्न सबै निकायले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्। सचिव शर्माले मन्त्रालयले आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block