काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएका दुःखद घटनामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौलाकाली केबलकार लिमिटेड गैँडाकोट–१, नवलपुरले फेरि उठ्ने अठोट गरेको छ । घटनामा परि ज्यान गुमाएका शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति र साहस प्राप्त होस् भनी समवेदना व्यक्त गर्दै कम्पनीले सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
कम्पनीले दुर्भाग्यवश, प्रदर्शनका क्रममा भएका घटनामा परि सार्वजनिक कम्पनीका रूपमा सञ्चालनमा रहेको मौलाकाली केबलकारमा समेत आगजनी र तोडफोड भई ठूलो क्षति हुन पुगेको जनाएको छ । गैँडाकोट र नवलपुरको पहिचान, पवित्र भूमि देवघाटको शिर, नेपालको पर्यटनप्रवर्द्धन, राजस्व वृद्धि र स्थानीय विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको मौलाकाली केबलकार गण्डकी क्षेत्रकै साझा गौरव र राष्ट्रिय सम्पत्तिको प्रतीक भएको स्पष्ट पार्दै कम्पनीले भनेको छ, ‘मौलाकाली केबलकार कुनै व्यक्तिगत सम्पत्ति होइन, यो हजारौँ स्थानीय सेयर धनीहरूको संयुक्त लगानी तथा मेहनतको जगमा बनेको हो । देशकै पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि सँगसँगै स्थानीय रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजार विकासमा यसले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। त्यसैले यहाँ भएको तोडफोड र आगजनीलेकेवल हाम्रा स–साना लगानीकर्ताहरू मात्र होइन, गैँडाकोट तथा चितवनका स्थानीय बासिन्दाहरु, कर्मचारी, उहाँहरूको परिवार तथा सम्पूर्ण पर्यटन क्षेत्रलाई नै गहिरो पीडा दिएको छ । तोडफोडबाट क्षति कम गर्न, आगजनी नियन्त्रणगर्ने क्रममा सहयोगको हात बढाएर सक्रिय भूमिका निर्वाह गर्नुभएका सुरक्षाकर्मी, स्थानीय समुदायतथा कर्मचारीहरूप्रति हामी हृदयदेखि नैआभार व्यक्त गर्दछौँ । यति ठुलो क्षति भए पनि हाम्रो सपना र अठोट भाँचिएका छैनन्। हामी सबैले हातेमालो गरी छिट्टै सेवा सुचारु गर्नेछौँ र अझगुणस्तरीय सेवासहित नेपालको पर्यटनप्रवर्द्धनमा योगदान पुर्याउने सङ्कल्प गर्दछौँ ।’
कम्पनीले यो सङ्कल्पलाई पहिले जस्तै अघि बढाउन स्थानीय समुदायको निरन्तर सहयोग रहने अपेक्षासहित र सुरक्षात्मक समन्वयका लागि सम्बन्धित निकायसँग विशेषआग्रह गरेको छ ।






















