काठमाडौं । काभ्रेपलान्चोक जिल्लाको बनेपा–९ स्थित नयाँ बस्तीमा फेला परेको ८ वटा सकेट बमलाई नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ । एक सूचना जारी गर्दै सेनाले उक्त जानकारी दिएको हो ।
त्यसैगरी सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदीबन्दीहरु, डोटीको दिपायल सिलगढीस्थित बाल सुधार गृहबाट भागेका ३ जना बालबन्दीहरु, धादिङ्गस्थित गजुरीमा रहेको धादिङ्ग कारागारबाट भागेका ३९ जना कैदीहरु र बाँकेको डडुवास्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ जना बालबन्दीहरु नियन्त्रणमा लिईएको नेपाली सेनाले जनाएको छ । बाँके जिल्लाको नेपालगञ्जस्थित जिल्ला कारागारमा होहल्ला तथा आगजनी गरी बाहिर निस्कन खोजेका कैदीबन्दीहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। सो क्रममा १ जना कैदी घाइते भएको सेनाले जनाएको छ ।
यता ललितपुर जिल्लाको भैसेपाटी इलाकामा रहेको स्थानीय प्रहरी चौकी स्थानीय व्यक्तिहरुद्वारा सरसफाई गरी कार्यरत प्रहरीहरुलाई स्वागत गरेका छन् । त्यसैगरी ट्राफिक प्रहरी प्रभाग कलंकीमा स्थानीयको सहयोगमा आगजनीबाट ध्वस्त कार्यालय सरसफाई गरिएको छ । नेपाली सेनाले हालसम्म विभिन्न स्थानहरुबाट ९७ नाल हतियारहरू बरामद गरेको जनाएको छ ।






















