काठमाडौं । दुई संस्थाका शेयरधनीलाई आजदेखि हकप्रद शेयर भर्न पाइने अवसर खुलेको छ । रिभर फल्स लिमिटेडले आज भदौ २३ देखि १०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो भने सिटि होटल लिमिटेडले पनि आजदेखि नै ८० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गरेको हो । यसअनुसार लगानीकर्ताले रिभर फल्सको १०० कित्ता बराबर १०० कित्ता नै भनै पाउनेछन् भने सिटि होटलको १०० कित्ता शेयर हुनेले ८० कित्ता शेयर भर्न पाउनेछन् । दुवै कम्पनीका १०० रुपैयाँ अंकित दरका हकप्रद हुन् । दुवै कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
रिभर फल्सले ७० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । साउन २६ गते बुकक्लोज यस कम्पनीको हकप्रदमा साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा असोज १२ गतेसम्म आवेदन दिन पाइनेछ । शेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ ।
यता सिटि होटलले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । यसका लागि कम्पनीले साउन २७ गते बुकक्लोज गरेको हुनाले साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत हकप्रदका लागि आवेदन दिन सक्नेछन् । हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ ।




















