काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात २ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका २ लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । आईपीओमा चितवनको रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाबासीहरुले आवेदन दिन सक्नेछन् ।
यसका साथै कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ४ करोड ९७ लाख ९ हजार २०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ९७ हजार ९२ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्ना कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा असोज १२ गते हुनेछ भने ढिलोमा असोज २७ गते हुनेछ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा असोज १ गते हुनेछ भने ढिलोमा असोज १२ गते हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीयले एसवाई प्यानल नेपाल, रत्ननगर, चितवन, प्रभु क्यापिटल, कमलादी र क्यापिटलले निर्माण गरेको अनलाइन लिंकमा गई आवेदन दिन सक्नेछन् । यसका साथै प्रभु बैंकको सौराहा र टाँडी शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।






















