काठमाडौं । बुंगल हाइड्रो लिमिटेडले आज भदौ १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । हाइड्रोले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेर बाँडफाँड गरेपछि सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १७ लाख १ हजार ५०० कित्ता शेयर निष्काशन गरेको हो ।
कम्पनीको आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ यदि समय लम्बिएमा भदौ ३० गतेसम्म पुग्नेछ । आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको र त्यसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र २ लाख ७ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाड गरिसकेको छ । त्यस्तै कम्पनीले १ लाख ३ हजार ७५० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुका लागि र ६२ हजार २५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।
हिमालयन क्यापिटल लिमिटेड कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ । सर्वसाधारण लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।






















