काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार शुरु गरेको ८ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । यस उपलक्ष्यमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्ने करिव ७० लाख बीमितहरु, नियमनकारी निकायहरु, कम्पनीको पहुँचलाई दूर दराजसम्म पुर्याउन अहं भूमिका खेल्ने रिलायबल एडभाइजरहरु, शेयरधनीहरु, अहोरात्र काम प्रति समर्पित कर्मचारी, पत्रकार, लगायत समस्त सरोकारवालाहरुलाई इन्स्योरेन्सले आभार व्यक्त गरेको छ ।
इन्स्योरेन्सले हालसम्मको उपलब्धिबाट थप कार्य गर्नको लागि उर्जा प्राप्त भएको भन्दै भविष्यमा अझ ठूलो जिम्मेवारी वहन गर्न थप प्रेरणा प्राप्त हुने अपेक्षाका साथ समस्त सरोकारवालाबाट थप सहयोग तथा विश्वास प्राप्त हुने अपेक्षा गरेको छ । आगामी दिनमा सेवालाई उच्च प्राथमिकता राखी, थप ग्राहक मैत्री भई उत्कृष्ट कारोबार गर्ने प्रतिबद्धता कम्पनीको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ५७ करोड बराबर नाफा आर्जन गरेको छ । त्यसैगरी कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुरा गरी हाल रु. ५ अर्व १९ करोड भएको छ । कम्पनीले कुल लगानी गत आर्थिक वर्षको अन्त्यमा रु. २० अरबको हाराहारीमा रहेको छ भने गत आवमा कम्पनीले रु. १ अर्व ४३ करोड दाबी भुक्तानी प्रदान गरेको छ ।
कम्पनीले वार्षिक उत्सवको अवसरमा कर्मचारी तथा एडभाइजरहरु समेतको उल्लेख्य सहभागितामा केन्द्रीय कार्यालय ज्ञानेश्वरबाट मैतिदेवी, डिल्लीबजार, पुतलीसडक, कृष्ण पाउरोटी हुँदै पुनः केन्द्रिय कार्यालय ज्ञानेश्वरसम्म बीमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरुमा विभिन्न कार्यक्रमहरु गरी भव्यताका साथ सम्पन्न गरेको छ ।
महेन्द्रनगर, धनकुटा, लहान, भैरहवा शाखाहरुमा रक्तदान तथा स्वास्थ्य शिविर, राजविराज, चितवन, सुन्दर बजार, मिर्चैया शाखामा वृक्षारोपण, पुतलीबजार, विराटनगर, सुर्खेत, बुटवल, गोरखा, धनगढी, दमौली, वनेपा, इलाम, शाखाहरुद्धारा विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु तथा वृद्धाश्रममा खाध्य सामाग्रीहरु वितरण तथा सरसफाई गरी वार्षिकोत्सव मनाइएको छ ।






















