काठमाडौं । गरिमा विकास बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस्बाट सम्मानित भएको छ । अगस्ट २९, २०२५ मा इण्डियन च्याम्बर अफ कर्मशले भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेश्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा गरिमा गरिमा विकास बैंकले द वेष्ट बैंक र वेष्ट एआइ/एमएल इम्प्लिमेन्टेसन विधामा उत्कृष्टसहित वेष्ट एमएसएमइ एक्सिलरेसन विधामा रनर अपको अवार्ड प्राप्त गरेको हो । यस अवार्डमा नेपालसहित भारत, बंगलादेश, म्यानमार र श्रीलंकामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।
शुक्रबार आयोजित उक्त कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रुपमा उक्त अवार्ड ग्रहण गरेका हुन् । इण्डियन च्याम्बर अफ कर्मसद्वारा सन् २०२४ मा आयोजित दोश्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस कार्यक्रममा समेत यस विकास बैंकले वेष्ट एसिस्ट म्यानेजमेन्ट विधामा रनर अपको रुपमा अवार्ड प्राप्त गरेको थियो ।
यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यमा थप उर्जा प्रदान गरेको बैंकको भनाइ छ । यस अवसरमा विकास बैंकलाई निरन्तर साथ सहयोग एवं माया गर्ने सम्पूर्ण ग्राहकहरु, नियमनकारी निकायहरु, शेयरधनीहरु एवं शुभचिन्तकहरुप्रति बैंकले कृतज्ञता व्यक्त गरेको छ । साथै यस विकास बैंकलाई निरन्तर उत्कृष्ट विकास बैंकको रुपमा स्थापित गर्न आफ्नो कर्तव्य पालनामा अहोरात्र खट्ने सम्पूर्ण कर्मचारीहरुप्रति पनि बैंकले आभार व्यक्त गरेको छ ।
हाल विकास बैंकले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।






















