काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित गोदारमा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्घाटन गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उधम तथा आर्थिक विकास आयोजनाले निर्माण गरेको उक्त भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा मन्त्री अधिकारीले किसानले आफ्नै घरमा सेवा पाउने गरि सरकारले काम गरिरहेको बताए । ‘हाम्रै गाउँ घरमा किसानलाई आवश्यक सल्लाह, कृषि बाली र पशुपन्छीमा लागेका रोग र समस्याको निधान गर्न आवस्यक छ,’ मन्त्री अधिकारीले भने । उनले मन्त्रालयले आफ्ना विभिन्न निकायमार्फत आम किसानको घर दैलोमै सेवा दिन आईरहेकाले किसानलाई यस्को लाभ लिन आग्रह गरे । विभिन्न पालिकामा यस आयोजना मार्फत अत्याधुनिक सेवा सहितका कृषि भवनहरु निर्माण भएकाले पालिकाहरुले पनि यस्को प्रभाकारी संचालनका लागि ध्यान दिन जरुरी रहेको छ ,मन्त्री अधिकारीले भने । कार्यक्रममा पूर्व कृषि मन्त्री रामकृष्ण यादवले किसानहरुलाई सरकारले बढि भन्दा बढी सहजीकरण गर्न आवश्यक रहेको बताए ।
त्यस्तै पूर्व रक्षामन्त्री हरिप्रसाद उप्रेतीले कृषिको बजारीकरणमा पनि सरकारले प्राथमिकता दिनु पर्ने बताए । नगर प्रमुख जित नारायण यादवले अत्याधुनिक ल्याब सहितको सेवा केन्द्रको संचालनले कृषि र पशुमा देखिने समस्या समाधान गर्न सहज हुने बताए । आयोजनाका निर्देशक एवं सहसचिव डा. चन्द्र रिसालले केन्द्रको संचालमा पालिकाको भुमिका महत्त्वपूर्ण हुने भएकाले यसलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
२ करोड ३३ लाख रुपैयाँ लागतमा बनेको अत्याधुनिक प्रयोगशाला सहितको भवनमा माटो परिक्षण देखि कृषि र पशुलाई आवश्यक पर्ने भेट्नरी लगायतका सेवा केन्द्र मार्फत उपलब्ध हुने आयोजनाको आर्थिक करिडोर महोत्तरीका प्रमुख राजेश साहले जानकारी दिए ।






















