काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा १७ अर्ब ४५ करोड रुपैयाँको विद्युत् निर्यात गरेकोमा चालु आर्थिक वर्ष (२०८२/८३) को अन्त्यसम्ममा दोब्बर बनाइने जनाएको छ । इन्डियन इनर्जी एक्सचेन्ज, भारतमै मध्यमकालीन सम्झौता र बङ्गलादेश निर्यातसमेत गरी करिब ३५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने योजना अनुसार गृहकार्य भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् ।
कुल ८१० मेगावाट निर्यातको अनुमति पाएकोमा गत सोमबार मात्रै भारत सरकारले थप २०० मेगावाट विद्युत् निर्यातका लागि नेपाललाई सहमति दिएको छ । शाक्यका अनुसार थप दुई सय मेगावाट पनि स्वीकृतिको अन्तिम चरणमा छ । निर्यातको आँकडा बढाउने योजनाका अतिरिक्त प्राधिकरणका अन्य अवयवमा पनि रूपान्तरणको योजना रहेको उनको भनाइ छ ।
प्राधिकरणले ४० वर्षको अवधिमा ३ हजार ५ सय ९१ मेगावाट विद्युत व्यवस्थापन गरिरहेको जनाएको छ । नेपालले सन् २०३५ सम्ममा १५ हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य लिएको छ ।






















