काठमाडौं । उत्पादन क्षमता हेरेर विद्युत प्रसारण लाईन निर्माणमा लागिने ध्यान सरकारमा रहेको देखिएको छ । विद्युत उत्पादन हुने विभिन्न नदीको उत्पादन क्षमता हेरेर प्रसारण लाईन निर्माणमा लाग्नुपर्ने विषयमा सरकारी ध्यान गएको हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले यसबारे धारणा सार्वजनिक गरेका हुन् । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको १० औँ वार्षिकोत्सवमा मन्त्री खड्काले भने, “कुन करिडोरमा कति क्षमतामा विद्युत उत्पादन हुन्छ, त्यसको एकीन गरेर विद्युत प्रसारण लाईन निर्माण गर्नुपर्छ, जसले गर्दा एउटै जग्गा र वन अधिग्रहण गरे पुग्छ ।” उनले जलविद्युत उत्पादन गर्दैगर्दा वातावरणीय असरलाई पनि ख्याल गर्नुपर्ने उल्लेख गरेका छन् ।

ऊर्जामन्त्री खड्काले मुलुकको मुख्य आयस्रोतको मेरुदण्डको रुपमा ऊर्जा क्षेत्रलाई लिएको बताएका छन् । १० वर्षका लागि ऊर्जा विकासको खाका सरकारले अगाडि बढाएको भन्दै उक्त खाकालाई पुरा गर्न ग्रीड कम्पनीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
उनले सबैभन्दा छिटो मुलुकको आर्थिक विकास र अर्थतन्त्र चलायमान हुने क्षेत्र ऊर्जा क्षेत्र भएकाले निजी क्षेत्रलाई साथमा लिएर सरकार उmर्जा विकासमा लागिरहेको स्पष्ट पारे । सरकारले ऊर्जा क्षेत्रलाई तीव्र गतिमा अगाडि बढाउन खोजेको उनको भनाई थियो ।
“ठूलो लगानी हुने उर्जा क्षेत्रलाई कसरी सहजीकरण र वित्तिय व्यवस्थापन गर्न सकिन्छ भनेर सरकार प्रष्ट खाकाका साथ अगाडि बढेको छ, हामीले उर्जा क्षेत्रको विकासको प्रमुख सहयात्रीका रुपमा निजी क्षेत्रलाई लिएका छौँ,” उनले भने । उनले ऊर्जा क्षेत्रको विकासका लागि देखिएका कानूनी जटिलता र अफ्ठयारालाई सरकारले समाधान गर्दै जाने उल्लेख गरे ।
उनले ऊर्जा क्षेत्रको विकासका लागि अन्तरनिकाय समन्वय आवश्यक रहेको बताए । मन्त्री खड्काले हाम्रा दुई छिमेकी मुलुकबाट ऊर्जा क्षेत्रमार्फत फाइदा लिनुपर्ने उल्लेख गरे । उनले विद्युतको माग दिनानुदिन बढ्दै गएको भन्दै उत्पादन बढाउन लाग्नुपर्ने बताए । हाम्रो मानसिकताका कारण हामी पछाडि परेको भन्दै मन्त्री खड्काले त्यसबाट माथि उठ्नुपर्ने उल्लेख गरे ।
विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले प्रसारण प्रणालीलाई खुला पहुँच सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले प्रसारण लाइनमा ह्वीलिङ शुल्क निर्धारण गर्न नियमन आयोगले काम गरिरहेको उल्लेख गरे ।
ऊर्जा सचिव एवम् राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका अध्यक्ष सुरेश आचार्यले ग्रीड कम्पनीलाई देशको समग्र प्रसारण प्रणाली निर्माण, विकास, आधुनिकीकरण र सञ्चालनमा नेतृत्वदायी संस्थाका रुपमा विकास गरी देशको उर्जा आपूर्ति र उर्जा व्यापारको सशक्त सम्वाहक बनाउन जरुरी रहेको बताए ।
लगानी बोर्डका कार्यकारी निर्देशक सुशील ज्ञवाली, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतले उर्जा क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए ।
राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनीयर सागर श्रेष्ठले ग्रीड कम्पनीले आगामी दश वर्षमा प्रसारण पूर्वाधारलाई सुदृढ बनाउँदै लैजाने बताए । उक्त कम्पनीले हाल ११ प्रसारण आयोजनालाई विभिन्न चरणमा अगाडि बढाएको छ ।






















