काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा अपेक्षा गरे भन्दा बढि दर्शकको आगमनले प्रर्दशनी स्थलमा रौनक छाएको छ । ५ दिन खुल्ने भनिएको एक्स्पोमा अवलोकनकर्ताहरुको मागलाई थोरै समयमा सम्बोधन गर्न गाह्रो भएपछि नाइमाले एकदिन प्रदर्शन अवधि थप गरेको छ ।
आफूलाई मनपर्ने सवारीसाधनहरु अवलोकन गर्ने, सोधपुछ गर्ने, बुकिङ्ग गर्ने, साथै खरिद गर्नेहरुको घुइँचो रहेको प्रदर्शनी शनिबारको मुसलधारे पानीमा पनि निर्वाध संचालन भयो । अरु दिन कार्यालयको कामकाजमा व्यस्त रहने व्यक्तिहरुले शनिबार उत्साहका साथ प्रदर्शनीमा सहभागिता जनाएका छन् ।
एक्स्पोका प्रारम्भिक तीन दिनमा सर्वसाधारणका साथै वरिष्ठ कलाकार, कुटनितिक नियोगका कर्मचारीहरु, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरु, व्यापारी साथीहरु लगायत समाजका सबै तहका व्यक्तिहरुले उपस्थिति जनाएका छन् । प्रदर्शनीको पहिलो दिन पन्ध्र हजार, दोश्रो दिन साढे तेह्र हजार, तेस्रो दिन साढे उन्नाइस हजार र आज शनिबार एक्काइस हजार पाँच सय अवलोकनकर्ताहरुले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सहभागिता जनाएका छन् ।
स्थापनाको केही महिनामै आयोजना गरिएको पहिलो प्रदर्शनीमा अवलोकनकर्ताहरुको अपार माया र समर्थन प्राप्त गर्न सफल नाइमा, आगामी दिनहरूमा पनि नेपालको मोबिलिटी क्षेत्रमा अझ ठूलो योगदान पु¥याउन प्रतिबद्ध छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् ।
साउन २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि खुला रहने भनिएको प्रदर्शनी अब साउन २६ गते सोमबार सम्मखुल्ने भएको छ ।





















