काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित “नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५” मा आजबाट शुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो शुरु हुन लागेकाे हो । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आज बिहानै एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च गरिँदैछ । आयोजक नाइमाले ५० भन्दा बढी ब्राण्डहरु एक्स्पोमा सहभागी रहेको जानकारी दिएको छ ।
राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप प्रदर्शनी स्थलमा साउन २५ गतेसम्म एक्स्पो संचालन हुनेछ । नाईमाको पहिलो यो एक्स्पोमा प्रदर्शनीस्थलको भौतिक पूर्वाधारमा व्यापक सुधार गरिएको आयोजकको भनाइ छ । एक्स्पोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने , विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिनेछन् । प्रर्दशनीमा १५ वटा दुई पाँग्रे, १५ वटा चार पाँग्रे र ५ वटा कर्मसियल गाडीहरु सार्वजनिक गरिँदैछ ।
नाइमाकी अध्यक्ष रितु शिंह वैद्यले “नाइमा मोबिलिटी एक्स्पो २०२५” नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी भएको दाबी गर्दै प्रर्दशनीमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने प्यानल डिस्कसन समेत हुने जानकारी दिएकी छन् ।
५० भन्दा बढी ब्राण्डहरू सहभागी प्रर्दशनीको टिकट खल्ती बाई आईएमईमा उपलब्ध रहेको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विक्री भएका टिकटहरुको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरुलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोशिपहरु प्रदान गरिने आयोजकले जनाएको छ । मेलामा ८० हजार अवलोकनकर्ताहरुको सहभागिता रहने आयोजकको अनुमान छ ।






















