Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पहिलो राष्ट्रिय कोदो दिवस आज मनाइँदै, कोदो खेतीमा अग्रसर हुन कृषकहरुलाई कृषिमन्त्री अधिकारीको आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । पहिलो राष्ट्रिय कोदो दिवस आज मनाइँदै छ । सरकारले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रुपमा मनाउने निर्णय गरेबमोजिम आज प्रथम कोदो दिवस मनाउन लागिएको हो । पहिलो राष्ट्रिय कोदो दिवसका अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकको बढ्दो खाद्यान्न आयात कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले कोदो खेतीमा अग्रसर हुन कृषकहरुलाई आग्रह गरेका छन् । मन्त्री अधिकारीले बढ्दो आयातको खाडल कम गर्न र निरोगी नेपालको लक्ष्य हासिल गर्न कोदो खेती सबैभन्दा उत्तम विकल्प भएको बताएका छन् ।

मन्त्री अधिकारीले जलवायु परिवर्तनका कारणले उत्पन्न सुख्खा तथा खडेरीजस्ता अवस्थामा पनि कोदो उत्पादनमा कुनै असर नपर्ने भएकाले कोदो खेती प्रवद्र्धन गर्न सरकारले कार्यक्रम र बजेटसहित कृषकसँग सहकार्य अघि बढाउने निर्णय गरेको पनि जानकारी दिएका छन् । गत वर्ष २ लाख २५ हजार हेक्टरमा भएको कोदो खेतीबाट ३ लाखबढी मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष त्यो तथ्याँकमा उल्लेख्यरुपमा वृद्धि गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको मन्त्री अधिकारीले जानकारी दिए ।

हरेक वर्ष ५० अर्ब बढी रुपैयाँ धान चामलको आयातमा विदेशिने गरेकोमा यस वर्ष सुख्खाले थप २० प्रतिशत धान उत्पादन घट्ने भएकाले सम्भावित खाद्यान्न संकट न्यूनीकरण गर्न कोदो उत्पादन अभियानमा सबै किसान जोडिनु आवश्यक देखिएको मन्त्री अधिकारीको भनाइ छ ।

मधेश प्रदेशसहित तराई मधेशमा तीनै तहको सरकारको समन्वयमा ५ सयबढी डिप ट्यूबेल जडानको काम शुरु भइसकेको र सिँचाई प्रवन्ध हुन नसक्ने जमिनमा सुख्खामा पनि लगाउन मिल्ने जातका धान खेती गर्न नार्क र सम्पन्धित निकायहरुले प्रक्रिया अघि बढाइसकेको मन्त्री अधिकारीले जानकारी दिएका छन् ।

कतिपय ठाउँमा रासायनिक मल लिन दिनभर लाइनमा बसेका किसान नपाएर साँझ रित्तै बोरा फर्कनु परेको जिज्ञासामा मन्त्री अधिकारीले २७ अर्ब ३६ करोड रुपैयाँको रासायनिक मल खरिद गरि वितरण भइरहेकाले विगतका वर्षहरुमा भन्दा अभावको गुनासो कम आएको बताए ।

उनले आफू राष्ट्रसंघीय कृषिसम्बन्धी छलफलमा सहभागी भइ हिजो साँझमात्र मुलुक फर्केको जानकारी गराउँदै मन्त्री अधिकारीले सम्मेलनमा जलवायु प्रकोपको समुत्थान,वैकल्पिक खेती , खाद्य सुरक्षा लगायतका विषयमा छलफल भएको र त्यसले वर्तमान विषम अवस्था अन्त्य गर्न  विश्व समुदाय एक भइ अघि बढ्ने सहमति भएको बताएका छन् ।

Health Tips Ad Road Block