काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटगरी विभागले ल्याउन लागेको सवारी साधन आयात उत्पादन तथा जडानसम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा विस्तृत छलफल गरेको छ ।
विशेषगरी सवारी आयात, उत्पादन र जडान, नेपालमा यातायात व्यवसायी महासंघको माग सम्बन्धमा विद्युतीय सवारी साधनहरुको वारेन्टी, ग्यारेन्टी, अथराइज्ड सर्भिस सेन्टर, चार्जिङ्ग स्टेसनको व्यवस्था गरेर मात्र आयात गर्न पाउने माग, सवारी साधनमा ईम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने, प्रयोग भएका ब्याट्रीको दीर्घकालीन व्यवस्थापन, डुप्लिकेट सर्टिफिकेसन, डकुमेन्टेसन, छाप र लोगो प्रयोग, मोटर क्षमता र सिट संख्यामा भएको विवाद, भन्सार महसुल निर्धारणको लागि आधारहरूको सिफारिस, ट्याक्सीमा प्रयोग हुने सवारी साधनहरू व्यक्तिगत सवारीभन्दा महँगो भएको ट्याक्सी व्यवसायीको गुनासो र आयात हुने सवारीमा जिपीएस अनिवार्य गर्ने लगायतका विषयहरूमा छलफल गरिएको हो ।
छलफलमा नाडाका अध्यक्ष चौधरीले सो निर्देशिकाको विषयमा बुँदागत छलफल गरिनु पर्ने धारणा राखे । चौधरीले सो निर्देशिकाका सम्बन्धमा नाडामा विस्तृत छलफलगरी सुझाव पठाउने बताउँदै विभागले छलफलका लागि नाडालाई बोलाएकोमा आभार प्रकट गरे । बैठकमा उपस्थित नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सो निर्देशिकामा रहेका केही बुँदाहरु नेपालको सन्दर्भमा व्यवहारिक बनाउनु पर्ने र कतिपय जटिल विषयहरुमा थप छलफलको आवश्यकता रहेको बताएका छन् ।
छलफलकाक्रममा विभागका महानिर्देशक पोखरेलले सवारी साधन आयात उत्पादन तथा जडानका सम्बन्धमा नेपालमा कुनै स्पष्ट नीतिनियम नभएको सन्दर्भमा यो निर्देशिका ल्याउन लागेको बताउँदै यसका लागि विभिन्न चरणमा छलफल गरिने बताए । छलफलको क्रममा उनले सरकारले व्यवसायीहरुका लागि विभिन्न व्यवधानहरु सिर्जना गर्ने गरेको आम बुझाई रहेको भएपनि अब सरकार व्यवसायीहरुको परिपुरकको रुपमा उभिने बताउँदै देशको आर्थिक विकासमा नीजि क्षेत्रको ठूलो भूमिका हुने बताए ।
विभागसँग मिलेर नाडाले सवारी साधनहरुका लागि टेष्टिङ्ग फेसिलिटीको व्यवस्था गर्न सकिने भन्ने नाडाका अध्यक्ष चौधरीको प्रस्तावमा प्रतिक्रिया दिँदै महानिर्देशक पोखरेलले मुख्यतः ३ वटा विषयमा नाडासँग सहकार्य गरेर अघि बढन सकिने बताए । उनले सही समयमा सही छलफल भएको धारणा राखे ।
छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले नेपालमा सवारी साधन आयात हुने सम्बन्धी व्यवस्थाहरुका सम्बन्धमा बैठकलाई विस्तृत रुपमा जानकारी गराएका थिए । छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।






















