Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुख्खा संकटग्रस्त मधेशका लागि ‘आपतकालिन कार्ययोजना’ तयार, तत्काल राहत दिने गरी काम गरिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सुख्खापीडित मधेशका लागि सरकारको आकस्मिक राहत र दीर्घकालीन समाधान योजना अगाडि सारिएको छ । मधेश प्रदेशका आठ जिल्लामा परेको खडेरीका कारण सिंचाई एवं खानेपानी समेतको समस्या भएपछि सरकारले ‘विपद्’ को रूपमा लिएसँगै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले गठन गरेको उच्चस्तरीय कार्यदलले तयार पारेको प्रतिवेदन ऊर्जामन्त्री खड्कालाई बुझाएपछि तत्काल राहत दिनेगरी काम गरिने जनाइउृको हो । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले प्रतिवेदन बुझ्दै कार्यदलले दिएको सुझावलाई तत्काल कार्यान्वयन गर्ने र राहतदेखि सिंचाईंका कामहरु शुरु गर्न निर्देशन दिएका छन् । “अब ढिलो गर्नु भनेको जनताको भरोसा गुमाउनु हो। यो विषय सरकारको कार्यसूचीको पहिलो प्राथमिकतामा हुनेछ।”

तराई मधेश देशको अन्नको भण्डार रहेको भएपनि समयमै पानी नपर्दा सिंचाई देखि खानेपानीको अभाव हुनु गम्भीर चिन्ताको विषय रहेको भन्दै ऊर्जामन्त्री खड्काले “विपद्‌लाई योजनामा होइन, किसानको खेतमा सिंचाई सुविधा पुग्नेगरी कार्यान्वयन गर्न आवश्यक रहेको बताए । उनले भने, “प्रधानमन्त्रीलगायत सम्बन्धित पक्षसँग कार्यदलले बुझाएको प्रतिवेदनको बारेमा छलफल गरी कार्यान्वयन गराउन लाग्ने छु । सिंचाई सुविधा नहुँदा तराइमा मात्र नभई देशमै अन्नको संकट हुने हुँदा पीडित किसानलाई तत्काल सिंचाई, बिउ–विजनलगायतको सेवा उपलब्ध गराउनु राज्यको पहिलो दायित्व भएकोले द्रूत गतिमा काम गर्न सबै लाग्नुस् ।”

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सह सचिव सुशील चन्द्र आचार्यको नेतृत्वमा कृषि तथा पशुपंछी मन्त्रालयका सहसचिव, कृषि विभागका महानिर्देशक, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक जलस्रोत तथा सिंचाई विभागका महानिर्देशकसहितको ६ सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदलले तयार गरेको प्रतिवेदनले मधेश प्रदेशमा भूजलको गिरावट, साना तथा मझौला सिंचाइ संरचनाको जिर्ण अवस्था, प्राविधिक जनशक्तिको अभाव, र सिँचाइको असमान पहुँच लगायतका विषयहरूलाई गम्भीर संकटका रूपमा उजागर गरेको छ। यससँगै स्थानीय तहसँगको समन्वय, कृषि मन्त्रालयसँगको सहकार्य र नीति कार्यान्वयनमा लचकता आवश्यक रहेको उल्लेख गरिएको छ।

मन्त्रालयले तत्काल लागू गरिने केही प्राथमिक कार्यक्रमहरूको खाका पनि सार्वजनिक गरेको छ। जसमा खानेपानी आपूर्तिका लागि पानी ट्याङ्कर परिचालन, साना तथा मझौला ट्युववेलहरूको मर्मत र पुनःसञ्चालन, सिंचाइ सामग्रीको सरल आपूर्ति प्रक्रिया निर्माण, भूजल रिचार्ज प्रविधिमा जोड र आधुनिक सिंचाइ विधिहरू जस्तै ड्रिप तथा माइक्रो इरिगेसन प्रणालीको विस्तार जस्ता विषय समावेश छन्।

ऊर्जा मन्त्री खड्काले यस कार्ययोजनालाई विपद्‌ व्यवस्थापनका साथ विकासको अवसरमा रूपान्तरण गर्ने एउटा मोडेलको रूपमा व्याख्या गरे । उनले भने, “अब हामी बहानाभन्दा समाधान चाहन्छौं। पीडितलाई पानी पुर्‍याउने काममा ढिलाइ गर्नु गम्भीर अपराध हो।”

प्रतिवेदन तयार पार्ने कार्यदलले प्रदेशका प्रभावित जिल्लाहरूमा स्थलगत अध्ययन गर्दै स्थानीय प्रतिनिधि, किसान, उपभोक्ता समिति तथा सरोकारवाला निकायसँगको छलफलबाट तथ्य संकलन गरेको जनाएको छ। प्रतिवेदनअनुसार मधेशको सुख्खा समस्यालाई ‘नीति निर्माणदेखि कार्यान्वयनसम्म पुनरावलोकन गर्नुपर्ने’ आवश्यकतासमेत औंल्याइएको छ ।

Health Tips Ad Road Block