Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ: प्रचण्ड 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रका नेता कार्यकर्ताले नेतृत्व लिएका हरेक सामाजिक संघ संस्थाहरूमा माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्नेगरी मौलिक सोच झल्किनु पर्ने बताएका छन्।

नेकपा (माओवादी केन्द्र) समाज कल्याण विभागद्वारा आज काठमाडौंमा आयोजित “सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम” मा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले सामाजिक संघसंस्थामा माओवादी केन्द्रको हस्तक्षेप सकारात्मक हुनुपर्नेमा जोड दिँदै बदलिएको राजनीतिक परिस्थितिमा यस्ता संस्थामा सहभागी भई सकारात्मक भुमिका निर्वाह गर्न आवश्यक रहेको बताए।“नेपाली समाजवादको बाटो कस्तो हुने भन्ने कुरा विभिन्न सामाजिक संघसंस्थामा हाम्रो भूमिका कस्तो हुन्छ भन्नेमा भर पर्छ,” उनले भने ।

अध्यक्ष प्रचण्डले माओवादी नेता तथा कार्यकर्ताहरू विभिन्न संघसंस्थामा संलग्न भए पनि खुल्न नचाहने प्रवृत्ति परिवर्तन गर्न जरुरी रहेको बताए। माओवादीले नेतृत्व गर्ने संस्थामा जनताले फरकपन देखाएर जनतामा स्थापित हुनुपर्ने उनले बताए। उनले भने, “जहाँ जहाँ हाम्रा साथीहरू सहभागी हुनुहुन्छ, ती संस्था उत्कृष्ट हुनुपर्‍यो र सामाजिक संघ संस्थालाई कसरी बुझ्ने भन्नेमा पार्टीले लिएको निर्णय अनुसार जनतामा मात्रै होइन, पार्टीको तल्लो तहसम्म नै एउटै धारणा बनाउन आवश्यक छ।”

अध्यक्ष प्रचण्डले पार्टीको मूल विचार, त्याग र तपस्याको इतिहासलाई व्यवहारमा देखिने गरी माओवादी केन्द्रका नेताकार्यकता सहभागी रहेका संघसंस्थामा स्पष्ट नीति, कार्यदिशा र एकरूपताका हुनुपर्ने बताए। देशभरका स्थानीय तहको अवस्था हेर्दा त्याग र बलिदानीको इतिहासका कारण पनि माओवादीले नेतृत्व लिएका स्थानहरू नै अगाडि रहेको उनले बताए।

उनले भने, “माओवादी केन्द्रको त्याग, तपस्याको इतिहास र परिवर्तनका लागि लडेको इतिहासका कारण हामीले व्यवस्थित ढंगले योजनाबद्ध निर्देशन नगर्दा नगर्दै पनि स्थानीय तहमा माओवादीले नेतृत्व गरेका पालिकाहरू नै अगाडि छन्। अझ व्यवस्थित गर्दा धेरै राम्रो गर्न सकिन्छ। माओवादी केन्द्रले नेतृत्व गरेका संघ संस्थाहरू फरक ढंगले चलाउँदा मात्रै हाम्रो स्वत्व रहन्छ। त्यसले हामीले जहाँ नेतृत्व गरेका छौं, त्यहाँबाट जनताको निम्ति, राज्यको निम्ति गर्न पर्छ र जनतालाई माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ।”

सहकारी क्षेत्रमा देखिएको भ्रष्टाचारको चर्चा गर्दै अध्यक्ष प्रचण्डले ठूला र परम्परावादी दलहरूको सहभागी भएका सहकारी र सामाजिक संघ संस्थाहरूमा उनीहरूको प्रवृत्तिका कारण ठूलो स्केलमा समस्या आएको उनले बताए।

“अहिले सहकारीमा निकै ठूलो स्केलमा ठूला पार्टीहरू सहभागी भएर भ्रष्टाचार, बेथितिको सिर्जना भयो भन्ने कुरा निकै नै गम्भीर बनेको छ। जुन दलहरूलाई हामी संसदवादी दलाल पुँजीवादी भन्ने गर्छौं, उनीहरूका अनुसार होइन, हामीले नेतृत्व लिने संस्था फरक र माओवादीको विचार अनुसार चलाउनुपर्छ। पुराना दल जसले उनीहरूकै सोच अनुसार परम्परावादी शैलीमा सामाजिक संघ–संस्था चलाइरहेका छन्, त्यसले ती संस्थाहरूमा ठूलो स्केलमा समस्या देखिएका छन्। माओवादीहरूले चलाउने सामाजिक संघसंस्थाहरू वा सहभागी हुने संस्थामा आफ्नो सोच अनुसार गर्नु पर्छ। जनताले फरकपन महशुस गर्नेगरी काम गर्नुपर्ने हुन्छ,” उनले भने ।

सरकारमा हुँदा विभिन्न सामाजिक संघ संस्थाको बजेट सरकारको बजेटसँग समानान्तर जस्तो देखिने समस्या समाधान गर्न पहल लिएको अध्यक्ष प्रचण्डले बताए। विदेशी दातृ निकायले विभिन्न संस्था मार्फत खर्च गर्ने बजेट नियमन गरी राज्यको लेखाभित्र ल्याउने गरी पहल लिएको उनले स्मरण गरे।

माओवादी केन्द्रले अगाडि सारेको स्वतन्त्र र राष्ट्रिय अर्थतन्त्रको अवधारणा अरु पार्टीको सोचभन्दा फरक रहेको उल्लेख गर्दै, उक्त सोचलाई तलसम्म बुझाएर माओवादी पार्टी फरक हो भन्ने स्थापित गर्न आवश्यक रहेको उनले बताए।

Health Tips Ad Road Block