काठमाडों । आज नागपञ्चमी पर्व । परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ । नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास रहेको छ । नाग पूजाको प्रचलन वैदिककालदेखि सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजका दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।
आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ । नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु भएको मानिन्छ ।






















