Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सामुदायिक संस्थामार्फत करिब ६ लाख घरधुरीमा विद्युत पहुँच

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सामुदायिक संस्थामार्फत देशभर करिब ६ लाख घरधुरीमा विद्युत पहुँच पुगेको छ । विकट तथा ग्रामीण भेगहरूमा जनश्रम, जनसहभागिता र समुदायको लगानीमा आधारित सामुदायिक विद्युतीकरणमार्फत देशभर ३०० भन्दा बढी सामुदायिक संस्थाहरुमार्फत करिव ६ लाख घर धुरीमा विद्युतको पहुँच पुर्याइएको हो । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल २१ औं स्थापना दिवसका अवसरमा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष नारायण ज्ञवालीले सो जानकारी दिएका हुन् । उनले सामुदायिक विद्युतीकरणमार्फत उज्यालो नेपाल अभियानमा समुदाय आफैं नेतृत्वकर्ताको रूपमा प्रस्तुत भएको बताए । करिव २ अर्ब रुपैयाँ समुदायबाट संकलन गरी विद्युत संरचना निर्माणमा प्राधिकरणमा लगानी भएको जानकारी दिँदै विद्युत चुहावट न्यूनिकरण, घरदैलोमा विद्युत महशुल संकलन, सरल ग्राहक सेवा तथा विद्युत संरचना प्रति समुदायको अपनत्व र विद्युत संरचना संरक्षण र अनलाईन विद्युत महशुल संकलन यसले महत्वपूर्ण योगदान दिएको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जनअपेक्षा अनुरूप विद्युत् विकासलाई परिणाममुखी बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए । मन्त्री खड्काले, “हामीसँग पर्याप्त स्रोत छन्, केही चुनौती छन्, तर सबैले मिलेर अघि बढ्ने हो भने विद्युत् क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिन्छ,” भने।

उनले पछिल्लो समय भारत र चीनले विद्युत क्षेत्रमा गरेको तीव्र प्रगतिको सन्दर्भ दिँदै नेपालले पनि त्यही लहर पच्छ्याउँदै गुणस्तरीय ऊर्जा पूर्वाधार विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरे । मन्त्री खड्काले सामुदायिक तहमा सञ्चालित विद्युत परियोजनाहरू मध्ये सञ्चालन गर्न नसकेका संस्थाहरूलाई नेपाल विद्युत प्राधिकरणमार्फत व्यवस्थापन गर्दै लैजानुपर्ने प्रस्ताव गरे । कार्यक्रममा उनले द्वन्द्वकालमा देशका विकट क्षेत्रहरूमा विद्युत सेवा विस्तारका लागि सामुदायिक विद्युत उपभोक्ता महासङ्घले खेलेको भूमिकालाई उच्च सम्मान गर्दै भविष्यमा पनि यस्ता प्रयासहरूलाई संस्थागत बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्व उर्जामन्त्री दीपक ज्ञवाली, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायतले सामुदायिक विद्युत प्रवर्द्धनमार्फत ग्रामीण विद्युतीकरणमा महासङ्घले पुर्‍याएको योगदानको प्रशंसा गर्दै गुणस्तरीय उत्पादनमा लाग्न र सामुदायिक विद्युतीकरण बढाउन आवश्यक रहेको धारणा राखेका थिए । वक्ताहरुले विद्युत् व्यापार भन्दा विद्युतको खपत बढाउने, इकुकिङ, इमोबिलिटी बढाउनु आवश्यक रहेको धारणा राखेका थिए । अहिले देशभर करिब ९८ प्रतिशत विद्युतीकरण भएको सो अवसरमा जानकारी दिइएको थियो ।

कार्यक्रममा सामुदायिक विद्युतीकरणमा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न संस्थाहरूलाई सम्मानित गरिएको थियो।

Health Tips Ad Road Block