काठमाडौं । रामेछाप जिल्लाको सुनापति गाउँपालिका र आसपास क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले काठमाडौंमा अन्तक्रिया एवं छलफल चलाइएको छ । ‘व्यवसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन, समृद्ध उद्यमी सुखी सुनापति, कृषि, पर्यटन र शिक्षा हाम्रो सम्पति’ मुल नारा राखेर कार्यक्रम गरिएको हो । सुनापति गाउँपालिकामा पर्यटन पूर्वाधारको थप विकास र पर्यटकीय क्षेत्रको प्रवर्दन, संरक्षण, प्रचार प्रसार गर्ने, पर्यटन क्षेत्रको थप पहिचान र विकासमा सहकार्य गर्ने उद्धेश्यले सुनापति गाउँपालिकाको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रममा सबैलाई स्वागत गर्दै पालिकाकी उपाध्यक्ष गीता विष्टले त्यहाँको पर्यटन क्षेत्र र पर्यटन गन्तव्यको बारे उजागर गरिन् । कार्यक्रममा उपस्थित सबैले पर्यटन पूर्वाधारको विकासमार्फत दिगो पर्यटनको अवधारणामा जानुपर्ने बताए । उनीहरुले भएका सम्पदाहरुको प्रवद्र्धनलाई मुख्य पाटोकोरुपमा हेर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा सांसद पूर्णबहादुर तामाङले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार नभइ नहुने ठोकुवा गर्दै आकर्षक प्याकेज बनाएर पर्यटकीय प्रोडक्टलाई बिक्री गर्नुपर्ने सुझाव दिए । गाउँपालिकाले गरेको कामलाई ऐतिहासिक कार्यको संज्ञा दिँदै उनले आफू विकासका काममा संधै अगाडि बढ्ने बताए । पुल, खानेपानी, बिजुली, विभिन्न सडक बाटो कालोपत्रे गर्ने लगायत काममा आफू निरन्तर लागिरहेका भन्दै उनले आवश्यक स्थानमा आफूले सहयोग गर्ने बताए । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्ने कार्यक्रम अगाडि बढाउन सुझाव दिँदै उनले तीनै तहका सरकारको समन्वयमा लगानी अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष राम प्रसाद सापकोटा (कमल) ले सुनापतिकाे नयाँ पर्यटकीय गन्तव्यको शुभकामना दिँदै स्वरोजगार होमस्टेको विकासमा जोड दिए । सुनापतिलाई अगाडि बढाउने प्रयास सह्रानीय रहेको भन्दै सापकोटाले सन् २०२६ मा १३ लाख पर्यटक नेपाल आउने अपेक्षा गरिएको बताए । कोभिड अगाडि १३ लाखसम्म पर्यटक आएको तथ्याङ्क रहेको उल्लेख गर्दै उनले सन् २०२४ मा करिब ११ लाख पर्यटक आएको उल्लेख गरे । उपाध्यक्ष सापकोटाले एउटा पर्यटन विज्ञ राखेर योजनाबद्ध पर्यटन विकासमा लाग्न सुनापति पालिकालाई आग्रह गर्दै पर्यटन बोर्ड सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले सुनापतिको भूगोल, संस्कृति र इतिहासका साथै कृषि उत्पादनलाई समेत जोडेर एकीकृत पर्यटन विकासमा लाग्नुपर्नेमा जोड दिए । उनले फार्म ट्रिपसहित पर्यटन विकासका विविध विषयमा टानले गाउँपालिकासँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
यस्तै नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले त्यहाँका ट्रेकिङ ट्रेललाई राम्रो उपयोग गर्नुपर्नेमा जोड दिए । कलाकार, विदेशी राजदूतहरूलाई लगेर त्यस क्षेत्रको प्रवर्द्धन गर्नुपर्नेमा उनको जोड रहेको छ । सुनपातिलाई शैलुङ र खाडादेवीसँग जोडेर एकीकृत पर्यटन विकासमा लाग्नुपर्ने र लगानी आकर्षित गर्नुपर्ने उनले बताए । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले रणनीतिक योजना बनाएर सुनापतिको पर्यटन विकासमा लाग्नुपर्ने भनाइ राखे ।
छलफलमा नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कमल प्रसाद चौलागाईंले जातजाति रहनसहन, भाषाभाषीको उत्थानमा जोड दिए । त्यहाँको पर्यटकीय प्रोडक्ट विकासमा पालिकाले ध्यान दिनुपर्ने उनले बताए । पार्टीगत घेराभन्दा माथि उठेर साझा प्रयासमा पर्यटन विकासमा लाग्न सबैलाई उनको आगह्र छ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य देवशंकर पौडेलले सुनापति सानो र सम्भावना युक्त पर्यटकीय स्थल रहेको बताए । सुनापति र शैलुङसँगै मिलेर अगाडि जानुपर्ने उनको भनाइ थियो । तामाखानीको सुरुङ लगायत त्यहाँको प्राकृतिक, ऐतिहासिक, पुरातात्विक महत्वका वस्तुहरुको उजागर गर्न सबै लाग्नुपर्नेमा उनले जोड दिए । संविधान सभा सदस्यश्यामकुमार श्रेष्ठले पर्यटन गुरुयोजना बनाएर अगाडि बढ्ने कार्यको स्वागत गर्दै युद्ध पर्यटनमा केन्द्रित हुनुपर्ने धारणा राखे । आन्तरिक पर्यटनमा जोड दिनुपर्नेमा उनको जोड थियो । सुनापति, दोरम्बा, खाडादेवीलाई जोडेर पर्यटन विकासमा लाग्न उनको सुझाव छ ।
कार्यक्रममा सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले पालिका समृद्ध बन्न बाटोघाटो मात्रै भएर नपुग्ने भन्दै सबै चिज आवश्यक पर्ने भन्दै त्यसमध्ये पर्यटन पनि एक रहेको भनाइ राखे । सुनापतिको राष्ट्रिय प्रचारमा लाग्ने बताउँदै उनले सुनापतिकको कृषि उत्पादन, थान्का, गलैंचा लगायत क्षेत्रबाट उत्पादनसँगै रोजगारी वृद्धि गर्न पर्यटनलाई सँगसँगै अगाडि बढाइने उनले धारणा राखे । तामाङले पर्यटनसँग सम्बद्ध सरकारी, गैर सरकारी र निजी क्षेत्रसँग समन्वय एवं सहकार्य गर्दै सुनापतिको पर्यटन विकासका लागि लगानी अभिवृद्धि गर्ने, सुनापति गाउँपालिकाको मौलिक संस्कृति, धार्मिक स्थल, पौराणिक सम्पदाहरु, पर्यावरणीय विविधता र ऐतिहासिक स्थलहरुको संरक्षण, विकास र प्रचार–प्रसार गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए ।


प्राकृतिक विविधता, सांस्कृतिक सम्पदा र ऐतिहासिक पृष्ठभूमि रहेको सुनापति गाउँपालिकालाई धार्मिक, सांस्कृतिक र पर्यावरणीय गन्तव्यको रुपमा विकास गर्न गाउँपालिको मात्र नभई सङ्घ, प्रदेश र निजी क्षेत्रसमेतको लगानी अभिबृद्धि गर्नको लागि सुनापति गाउँपालिकाले छलफल गरेको हो । स्थानीय कला संस्कृतिहरु जस्तै थान्का चित्रकला, गलैंचा बुनाईलगायत विभिन्न धार्मिक स्थलहरुको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्नु, होमस्टे, पर्यटकीय होटल तथा रेष्टुरेन्ट, टुरिष्ट गाइड, हस्तकला, कृषि पर्यटनलगायतका माध्यमबाट स्वरोजगार सृर्जना गरी स्थानीय रोजगार र आयआर्जनका अवसर प्रदान गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ । पर्यटन बोर्डमा त्यहाँका प्रोडक्टहरु प्रदर्शन गरिएको थियो ।
सुनापति सूर्योदय र सूर्यास्त अवलोकनका लागि रमणीय स्थल मानिन्छ । जहाँबाट जुगल, लाङटाङ, गौरीशङ्कर हिमशृृङ्खलादेखि सर्वोच्च शिखर सगरमाथाको दृश्यावलोकन गर्न पाइन्छ । हाल उक्त क्षेत्रमारु नेपालथोक–लुभु–हिलेदेवी र सुनापति–शैलुङ्ग पदमार्ग छन् । एकसय आठ लहरेमाने, लखपतिमाने, सुनापति महादेव, डम्फु पार्क आदि यहाँक महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु छन् ।

कार्यक्रममा सुनापतिको श्रव्यदृष्य सामग्री प्रस्तुत गर्नुका साथै डम्फु र टुङ्गनाका साथ तामाङ कलाकारको विशेष स्वागतसहितको प्रस्तुतिकरणले त्यहाँको पर्यटनको एक झल्को दिन्थ्यो ।
























