काठमाडौं । नीतिगत र संरचनागत सुधारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय केन्द्रीत भएको बताइएको छ । मन्त्री बद्री प्रसाद पाण्डेले हाल आफूहरु नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका हुन् । उनले भने, ‘हाल हामी नीतिगत र कानुनी कामहरु गरिरहेका छौं । नागरिक उड्डयन, संस्कृति, पर्यटनलगायतका कानुनी सुधारका कुरामा केन्द्रित छौं । अहिले ९ वटा आवश्यक ऐनहरु हामी अघि बढाईरहेका छौं । संरचनामा काम गर्ने कुरामा हामी लागिरहेका छौं ।’
नेपालको पर्यटनमा लगानी बढाउनका लागि निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले भने, ‘पर्यटन बोर्डका माध्यमबाट निजी क्षेत्रलाई सहजीकरण गर्ने काममा लागिरहेका छौं । उहाँहरु पनि बोर्डको सहजीकरणबाट विश्वस्त र उत्साहित हुनुहुन्छ ।’
मन्त्री पाण्डेले पर्यटन बोर्ड थिंक ट्यांक पनि भएको उल्लेख गर्दै थपे,‘पर्यटन प्रबर्द्धनको खाका बनाउने र कार्ययोजना बनाउने चरणको अन्तिमतिर छौं । बजेट अभाव छ । निजी क्षेत्रलाई कसरी अघि बढ्न सकिन्छ भन्ने कुरामा हामी केन्द्रित छौं ।’
मन्त्री पाण्डेले यसअघि नै पर्यटन दशक घोषणा भइसकेको उल्लेख गर्दै हामी कार्ययोजना बनाउने काममा लागिरहेको बताए । उनले भने, ‘भ्रमण दशकको कार्ययोजना निर्माणको अन्तिम चरणमा छौं । यो कार्यान्वयनमा आएसँगै पर्यटनले फड्को मार्ने विश्वास लिएका छौं ।’
मन्त्री पाण्डेले हवाई सेवालाई सुरक्षित, सुलभ र भरपर्दो बनाउनका लागि मन्त्रालयले निरन्तर पहल गरिरहेकोसमेत बताएका छन् । उनले भने, ‘हवाई टिकट महँगो भयो भन्ने व्यापक गुनासो आइरहेको छ । यसको सम्बोधनका लागि हामीले निरन्तर पहल गरिरहेका छौं । नेपाल एयरलाइन्सको क्षमता वृद्धि गर्ने र विदेशी एयरलाइन्सको प्रभाव कम गर्न सकिएको खण्डमा हवाई भाडा समायोजन हुनसक्ने सम्भावना उच्च हुन्छ ।’
मन्त्री पाण्डेले मुलुकको आन्तरिक उडानलाई प्रभावकारी बनाउन प्रदेशस्तरमा ट्विनेटर विमान सञ्चालनका लागि पनि प्रदेशसँग समन्वय भइरहेको जानकारी गराएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा उनले यी कुरा राखेका हुन् ।






















