skip this News Page Tips Ad Road Block

एलडीसी स्तरोन्नतीपछि बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणको आवश्यकतामा अध्यक्ष ढकालको जोड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल अतिकम विकसित देश (एलडीसी) बाट स्तरोन्नती पछि पनि बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणहरूको लागि विश्व समुदायसँग आग्रह गरेका छन् । स्पेनको सेभिल्लास्थित फाइब्स सेभिल्ला प्रदर्शनी र सम्मेलन केन्द्रमा आयोजित “सशक्तिकरणका लागि लचिलोपनः दिगो एलडीसी स्तरोन्नतीका लागि जलवायु–स्मार्ट वित्तीयकरण ” कार्यक्रममा उनले सो आग्रह गरेका हुन् ।

अध्यक्ष ढकालले सन् २०२६ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नती हुने विषय नेपालका लागि उपलब्धिसँगै चुनौतीपूर्ण रहेको पनि बताए । उनले नेपालको एलडीसी स्तरोन्नती लागि तीन मापदण्डमध्ये दुई पूरा भएको भए पनि प्रतिव्यक्ति आयस्तर र जलवायु परिवर्तनको प्रभावप्रति उच्च जोखिममा रहेको उल्लेख गरे । “नेपालमा धरै अवसरहरू छन् । देशको ४० हजार मेगावाटभन्दा बढीको जलविद्युत सम्भावना छ । विश्वस्तरीय साहसिक पर्यटन गन्तव्यका रुपमा नेपाल परिचित छ । डिजिटल तथा सूचना प्रविधि सेवाहरूमा युवाहरुको सहभागिता बढ्दो छ । तर यो सम्भावनालाई वास्तविकतामा परिणत गर्न बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणको आवश्यकता छ । ” उनले भने ।

नेपालको वित्तीय आवश्यकता ठूलो र बढ्दो क्रममा रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले त्यसका लागि विश्वसमुदायसँग सहयोग र सहकार्यका लागि आग्रह गरे । “सरकारको राष्ट्रिय अनुकूलन योजनाले सन् २०५० सम्म जलवायु अनुकूलनका लागि करिब ४७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ, जुन वार्षिक रूपमा लगभग १.३ अर्ब डलर हो ।’ उनले भने, ‘साथै दिगो विकास लक्ष्यहरू प्राप्त गर्न नेपालले प्रत्येक वर्ष जीडीपीको करिब ११ प्रतिशतको वित्तीय अन्तरको सामना गरिरहेको छ ।’

उनले नेपालको कर राजस्व कुल ग्राहस्थ उत्पादनको (जीडीपी) को २० प्रतिशतबाट १६ प्रतिशतमा झरेको तथा हरित र दिगो क्षेत्रमा निजी क्षेत्रको लगानी अझै प्रारम्भिक चरणमा रहको उल्लेख गर्दै नेपालको लागि विकास साझेदार, क्षेत्रीय समकक्षी र दीर्घकालीन लगानीकर्ताहरूको सहयोग आवश्यक रहेको बताए ।

अध्यक्ष ढकालले यी चुनौतीहरूका बावजुद पनि नेपालमा थुप्रै सकारात्मक प्रगतिहरू भएको धारणा राखे । उनले महासंघको पहलमा नेपाल सरकारले देशको व्यापार र लगानी वातावरण सुधार गर्न ३० भन्दा बढी कानून संशोधन गरेको, द्विपक्षीय लगानी सम्झौताको ढाँचा पनि अनुमोदन गरिएको जानकारी दिंदै यसले लगानीमैत्री वातावरण बन्दै गएको बताए ।

एलडीसी स्तरोन्नतीले अन्तर्राष्ट्रिय समर्थनको अन्त्य नभई नयाँ प्रकारको साझेदारीको सुरुवात हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ढकालले नेपालजस्ता देशहरूलाई आर्थिक लचिलोपन निर्माण गर्न, स्वच्छ ऊर्जामा लगानी गर्न तथा जलवायु परिवर्तनले निम्त्याउने जोखिमहरू कम गर्ने दिशामा सहयोग गर्न विश्व समुदायलाई आग्रह गरे ।

उनले यसका लागि आवश्यक सहयोग र सहकार्यका लागि नेपालको निजी क्षेत्रको छाता संस्थाको तर्फबाट आफूहरु तयार रहेको समेत बताए । कार्यक्रममा विश्वभरका नीति निर्माता, विकास साझेदार, निजी क्षेत्रका नेताहरू र विशेषज्ञहरूसँग एलडीसीहरूमा जलवायु लचिलोपन र दिगो विकासका लागि वित्तीय चुनौती र अवसरहरूबारे छलफल भएको थियो ।

Health Tips Ad Road Block