काठमाडौं । घुस लेनदेन प्रकरणमा नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले दोषी ठहर गर्दै ८ वर्ष ३ महिनाको कैद सजाय सुनाएको छ । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत दफा ३(१) बमोजिम ८ वर्ष र दफा ३०(१) अनुसार थप ३ महिनाको कैद फैसला गरेको हो । अदालतले बस्नेतको २६ करोड २५ लाख रुपैयाँ बराबरको सम्पत्ति पनि जफत गर्ने आदेश दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पुस १४ गते बस्नेतविरुद्ध मुद्दा दायर गरेको थियो । आरोप अनुसार बस्नेतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजु प्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस बुझेको उल्लेख छ ।
अदालतले बस्नेतलाई १ करोड ५ लाख रुपैयाँ र कँडेललाई ९ लाख २२ हजार रुपैयाँ पीडित राहत सङ्कलन कोषमा बुझाउनुपर्ने आदेश पनि दिएको छ ।
यस प्रकरणमा पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक/अध्यक्ष कँडेललाई पनि ८ वर्ष कैद सजाय हुने फैसला भएको छ । कँडेल र दुई कम्पनीले पनि २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ बिगो दामासायीले भराउनुपर्ने भएको छ ।

मेयर बस्नेत लगातार दुई कार्यकाल नेपाली काँग्रेसका तर्फबाट त्यस नगरपालिकामा निर्वाचित भएका थिए ।






















