धादिङ । धादिङको मलेखु सबस्टेशनदेखि धादिङ सबस्टेशनसम्म टेस्टिङ कार्य हुने भएकाले पोल, तारको नजिक नजान र नछुन आग्रह गरिएको छ । नेपाल विद्युत प्राधिकरणको धादिङ वितरण केन्द्रले मलेखु सब–स्टेशनदेखि धादिङ सब–स्टेशनसम्म निर्माण भएको ३३ के.भी. डबल सर्किट लाइन टेस्टिङ एवं चार्जिङ गर्ने सूचना प्रकाशित गरेको छ । असार १९ गतेदेखि सो ३३ के.भी. डबल सर्किट लाइनको टेष्टिङ्ग तथा चार्जिङ्ग कार्य गर्न लागिएको हो । सो प्रसारण लाइन मलेखु सबस्टेशनदेखि खानीगाउँ, ईजु हटियाँ, कुम्पुर भञ्ज्याङ, बाघबच्छला, चाँपखोला, मस्र्याङछाप, डम्बरडाँडा, ससाहा, धादिङ पुच्छार बजार हुँदै धादिङ सबस्टेशनसम्म पुग्नेछ ।
डबल सर्किट लाइनको टेष्टिङ्ग तथा चार्जिङ्ग कार्य गरिने हुँदा त्यस क्षेत्रमा निर्माण भएको लाईनको पोल, तार र स्टे आदिमा नजिक नजान तथा नछुन केन्द्रले सबैलाई अनुरोध गरेको छ । यदि केन्द्रले निकालेको सूचनालाई अटेर गरी लापरवाहीको कारण कुनै पनि विद्युतिय दुर्घटना हुन गएमा विद्युत प्राधिकरण जिम्मेवार नहुने पनि केन्द्रले स्पष्ट पारेको छ ।
साथै विद्युत प्रसारणको क्रममा कुनै पनि स्थानमा तार चुडेको, स्पार्क भएको वा कुनै कैफियत देखिएमा तत्काल कार्यालको फोन नम्बर ०१०–५२०२५२, ०१० ५२१०६३, ०५०–५२०१३२, ९८५११०५१३२ कार्यालय प्रमुख वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन सूचनामा भनिएको छ ।























