Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

काठमाडौंमा विपद प्रतिकार्य कृतिम घटना व्यवस्थापन अभ्यास

विपदमा सकेसम्म जनधनको क्षति कम गराउन प्रभावकारी संयन्त्र निर्माण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ग्यासमा सल्किएको आगो निभेपछि घटनाका प्रत्यक्षदर्शीले ताली बजाए । आगोले जल्दा खरानी हुने वस्तुमा लागेको आगो, पेट्रोल डिजेल र तेलमा लागेको आगो, ग्यासमा सल्किएको प्रारम्भिक चरणको आगो निभाउने सिपको अवलोकन गरे । शरीरमा आगो सल्कियो भने आगो निभाउने तरिका हेरे । पानीमा डुबेको मानिसलाई बचाउन स्थानीय स्तरमा प्राप्त हुने वस्तुको प्रयोग गर्ने सिपमा जानकारी लिए । घटनाको प्रारम्भिक अवस्था व्यवस्थापन गर्दै सहयोग गर्ने निकायसँग सम्पर्क गर्ने अभ्यास अवलोकन गरे ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ ले प्रहरी वृत्त बानेश्वर, सशस्त्र प्रहरी बल २० नं. गण (विपद तथा उद्धार), महानगर प्रहरी बल, सामुदायिक प्रहरी सेवा केन्द्र र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजना गरेको विपद पूर्व तयारीका लागि कृतिम घटना व्यवस्थापन कार्यक्रममा सहभागी स्थानीयबासीलाई घटना व्यवस्थापनमा हरेक व्यक्तिले निर्वाह गर्नुपर्ने भूमिका महसुस गराइएको थियो ।
‘कसलाई कहिले के विपद आइलाग्छ? अनुमान गर्न सकिँदैन । यस्ता विपदमा सकेसम्म जनधनको क्षति कम गराउन प्रभावकारी संयन्त्र निर्माण गर्न खोजेका छौं ।’ कार्यक्रममा वडाध्यक्ष सरोज ढकालले भने, ‘वडास्तरीय विपद व्यवस्थापन समितिले समुदाय स्तरको क्षमता पहिचान गर्नेछ । यसअनुसार भूमिका प्रदान गर्नेछ ।’

वडाभित्रका सबै समुदायलाई सचेत गराउँदै सम्भावित विपदको समयमा आफू बच्न र अरुलाई बचाउन उत्तरदायी बनाउने योजना छ । वडास्तरीय विपद व्यवस्थापन तथा नागरिक सुरक्षा समितिका संयोजक हुमादेवी आचार्यले भने, ‘सकेसम्म कसैले विपद भोग्नु नपरोस् । यदि विपत्तिको अवस्था आइलाग्यो भने संयमताका साथ सामना गर्न सकियोस् । यसका लागि काम भइरहेको छ ।’ वडा सदस्य एवं समितिका सचिव अशोक केसीका अनुसार कृतिम अभ्यास अवलोकनका लागि वडाभित्रका उपभोक्ता समिति, टोल सुधार समिति, क्लव, संघसंस्थासहितका प्रतिनिधिहरुलाई सहभागी गराइएको थियो ।

कार्यक्रममा आगोको विज्ञानका विषयमा प्रस्तुतिकरण गर्दै नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराईले, कुनै कारणले घरमा ग्यास लिक भएको थाहा पाए बिजुली बत्ती बाल्न पनि नहुने र निभाउन पनि नहुने बताए । यसो गर्दा स्वीचबोर्डमा स्पार्क हुन सक्ने र यसबाट आगो सल्किन सक्ने उनको भनाइ थियो ।

कार्यक्रममा फायर इस्टीङ्ग्वीसरका प्रकार, यसको प्रयोग गर्ने तरिका, आगोको प्रकार चिन्ने तरिकाका विषयमा प्रस्तुतिकरण गर्दै नेपाल प्रहरीको विपद व्यवस्थापन महाशाखा सामाखुशीका प्रहरीका नायव निरीक्षक उमेशजंग रायमाझीले चुलोको काम छोडेर त्यससँगै अरु पनि काम गर्न थाल्दा पनि आगलागीको जोखिम देखिएको बताए ।

कृतिम अभ्यासमा आगोको प्रकारअनुसार फायर इस्टीङ्ग्वीसरको प्रयोग, ग्यासमा लागेको आगो निभाउने तरिका, शरीरमा आगो लागेपछि जलेका व्यक्तिको शरीरबाट आगो निभाउने अभ्यास गरिएको थियो । यसरी दुर्घटनामा परेका व्यक्तिको नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीहरुले प्राथमिक उपचार गरेर अस्पताल लगेका थिए । सशस्त्र प्रहरी निरीक्षक सरोज कटुवालको नेतृत्वमा रहेको टोलीले पानीमा डुबेको व्यक्ति, यस्ता व्यक्तिको अवस्था पहिचान गरेर उद्धारको अभ्यास प्रदर्शन गरेको थियो ।

Health Tips Ad Road Block