काठमाडौं । आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा कुलिङ पिरियडसम्बन्धी विवादित निजामती विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।
यसअघि प्रतिनिधिसभाको असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्नेगरी कार्यसूची तय भएपनि अन्तिम समयमा आएर रोकिएको थियो ।
आजका लागि निर्धारित कार्यसूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । सो विधेयकमाथि सांसदहरूले धारणा राखेपछि पारित हुने कार्यक्रम छ । प्रतिनिधिसभाले सो विधेयक पारित गरेर राष्ट्रियसभामा पठाइनेछ । राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएपछि सभामुखले प्रमाणित गर्नेछन् । सभामुखले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पेस गर्ने र प्रमाणीकरण गरेपछि विधेयक कार्यान्वयनमा आउनेछ ।






















