काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामार्फत इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नेगरी घोषणा गरेको लाभांश पारितसहित अन्य विविध प्रस्ताव पारित गर्नेछ । असार ३० गते, सोमबार, बिहान साढे १० बजे अम्रपाली ब्याङ्क्वेट एण्ड इभेन्ट प्रालि भाटभटेनी, काठमाडौँमा कम्पनीले ३१ औँ वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्दैछ । त्यसैगरी साधारण सभाले १५ प्रतिशत हकप्रद संशोधन गरी बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले असार १९ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । त्यसअनुसार असार १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।






















