काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी सेवा प्रदायक संस्था मध्ये नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम स्वीकृति पत्र प्रदान गरिएको छ । नेपालको इतिहासमै दुई ठूला डिजिटल वालेट एक भएर एकीकृत कारोवार हुन लागेको यो नै पहिलो पटक हो । नेपालमा डिजिटल कारोबारको इतिहास हेर्ने हो भने त्यति धेरै लामो समय नभएतापनि यसको प्रयोग भने तिब्र गतिमा भएको छ भन्ने कुराको प्रमाण आइएमई पे र खल्तीको यो संयुक्त कारोबारको अवसर पनि हो ।
आइएमई पे र खल्तीको एकीकृत कारोवारपश्चात आधिकारिक रुपमा कम्पनीको नाम भने आइएमई खल्ती लिमिटेड रहने भएको छ । यसको रजिस्टर्ड कार्यालय काठमाडौं, पानीपोखरीमा रहने छ । संयुक्त कारोबार पश्चात अधिकारिक रुपमा एपको नाम खल्ती रहने छ । ठूलो चुक्ता पूँजी र पचास लाखभन्दा बढी अधिकारिक प्रयोगकर्ताहरूले खल्ती एपलाई नेपालकै सबैभन्दा ठूलो र बलियो डिजिटल वालेटको रुपमा स्थापित गरेको छ । साथै भुक्तानी सेवा प्रदायक क्षेत्रमा नेपालको ग्रामिण क्षेत्रसम्म पहुँच बिस्तारमा तिब्रता आउने विश्वास कम्पनीले लिएको छ ।
नेपाल राष्ट्र बैंकबाट एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएसँगै आगामी तिन महिनासम्म प्रयोगकर्ताहरूको समायोजन कार्य तिब्र रुपमा चल्ने कम्पनीले जनाएको छ । जसका लागि दुवै एप ,आइएमई पे र खल्ती यथावत रुपमा संचालनमा रहने छन् । दुवै वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू, खल्ती प्वाइन्ट र आईएमई पे रिवार्ड प्वाइन्टहरू पनि उल्लेखित समयमा एकीकृत हुनेछन् ।
खल्ती र आइएमई पे दुबैमा भएका प्रयोगकर्ताहरू एकै ट्यापमा एपमा एकीकृत हुनेछन् भने आइएमई पे मा मात्र भएका प्रयोगकर्ताहरूको स्वीकृतिमा खल्तीमा समाबेश गरिनेछ । नयाँ प्रयोगकर्ताको हकमा भने प्रयोगकर्ताले सिधै खल्ती एप डाउनलोड गरेर नया फिचरमा प्रवेश गर्न सक्नेछन् र आइएमई पे एपको मात्र प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि अब खल्ती एपबाट नै सेवा सुविधाको उपयोग गर्न सक्नेछन् ।
संयुक्त कारोवार पश्चात एपको नाम खल्ती भएपनि आइएमई पेमा भएका सवै फिचरहरु त्यहाँ समावेश हुनेछन् । अहिलेसम्म आइएमई पेमा रहेका ग्राहक पनि एक ट्यापमै खल्ती एपमा आवद्ध हुन सक्नेछन् । आइएमई पे मा भएका ब्यालेन्स, रिवार्ड प्वाइन्ट सहजै खल्तीमा स्थानान्तरण हुनेछन् । यस कार्यबाट खल्ती एप सहज र सुविधाजनक डिजिटल प्लेटफर्मको रुपमा स्थापित हुने विश्वास कम्पनीले लिएको छ ।
संयुक्त कारोबार पश्चात यो डिजिटल भुक्तानी प्रणाली आगामी दिनमा व्यापक रूपमा प्रयोग हुने मात्र नभई सबैभन्दा विश्वासिलो भुक्तानी प्रणालीको रुपमा रहने कम्पनीको विश्वास रहेको छ । डिजिटल भुक्तानी विस्तारै दैनिक जीवनको एक हिस्सा बन्दै गरेको वर्तमान समयमा आइएमई पे र खल्तीबीचको संयुक्त कारोबार नेपालको डिजिटल क्षेत्रमा कोशेढुंगा सावित हुने विश्वास लिइएको छ ।
खल्ती वालेटले आगामी दिनहरुमा प्रयोगकर्ताहरुलाई फिनटेक क्षेत्रमा नयाँ अनुभव प्रदान गर्ने बताएको छ । एपमार्फत प्रयोगकर्ताहरूले विश्वको कुनै पनि ठाउँबाट पठाएको रेमिटेन्स सजिलै वालेटमा प्राप्त गर्न सक्नेछन् भने एपमार्फत नै बैंक खाता खोल्न, भिजा कार्ड प्राप्त गर्न सक्नेछन् साथै भविष्यमा ऋण तथा अन्य सुविधाको पहुँच विस्तार पनि खल्ती एप मै हुनेछ । यसरी खल्ती एपले फिनटेक प्रणालीलाई नयाँ र बलियो निर्देशन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
हाम्रो जस्तो विकासोन्मुख समाजमा डिजिटल वालेटको कुरा सुनिन थालेको त्यत्ति लामो समय भएको छैन तर यसका प्रयोगकर्ता भने जुन सुकै उमेर समूहका पनि रहेको पाइएको छ । जनसङ्ख्याको ठूलो हिस्सा डिजिटल वालेट प्रयोगमा होमिएको यो यस अवस्थामा गतिशिल समाजलाई अर्थ कारोबारको सवालमा थप गतिशिल बनाउन यो मर्जर अग्रणी बन्ने दुवै कम्पनीको विश्वास रहेको छ ।
साथै दुई ठूला कम्पनीको मर्जरले केन्द्रीय बैंकले लिएको फिनटेक सम्बन्धि पहुँच बिस्तारमा सहयोग पुग्न गई नगद कारोबारमा कमि, विधुतीय कारोबार विस्तार सहरीदेखि ग्रामिण भेगसम्म आर्थिक क्रियाकलापहरुमा पारदर्शिता एवम कारोबारमा वृद्धि गर्दै सबैमा समय र खर्चको सदुपयोग हुने विश्वास कम्पनीले लिएको छ ।






















