Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

दैनिक ४० मेगावाट विद्युत बङ्गलादेश निर्यात गरेर मासिक २५ करोड आम्दानी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालबाट दैनिक ४० मेगावाट विद्युत बङ्गलादेश निर्यात गरेर मासिक २५ करोड बराबर आम्दानी हुने भएको छ । । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा रु. एक अर्ब २५ करोड बराबर आम्दानी हुने बताएको हो ।

नेपाल विद्युत प्राधिकरणले शनिबार राति १२ बजेबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात गरेको थियो । गत वर्ष कात्तिक ३० (नोभेम्बर १५) मा पहिलोपटक ११ घण्टा ३० मिनेटका लागि भारतीय प्रसारण लाईन हुँदै बङ्गलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यसवर्ष शनिबार राति १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत निर्यात सुरु गरेको हो ।

गतवर्षको असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म विद्युत निर्यात भएको थियो ।

उर्जामन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गरेर मुलुकको दिगो आर्थिक विकासका लागि उर्जा क्षेत्र भरपर्दो माध्यम भएको पुष्टि हुने बताएका छन् । यस क्षेत्रमा सरकारले अझ बढी ध्यान दिएर काम गर्दै आएको उनले बताएका छन्, “सरकारले आन्तरिक विद्युत खपतलाई भरपर्दो र सुरक्षित बनाउने गरी काम गरिरहेको छ,” मन्त्री खड्काले भने ।

उनले विद्युत क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेर साना आयोजनाका साथसाथै बुढिगण्डकी, अपर अरुणलगायतका ठूला आयोजनालाई अगाडि बढाउन लागिरहेको उल्लेख गरेका छन् । विद्युत व्यापारले नेपालको समृद्धिको आधारलाई झन् बलियो बनाउँदै लगेको मन्त्री खड्काको भनाई थियो ।

उर्जामन्त्री खड्काले जलविद्युत क्षेत्रमार्फत गरिब तथा विपन्न नागरिकलाई सम्पन्न बनाउनका लागि सरकारले विनाधितो रु. दुईलाखदेखि पाँच लाखसम्मको शेयर प्रदान गर्न लागिरहेको बताएका छन् । नेपालले हरेक वर्ष पाँच महिना बर्षाद्को समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ ।

बङ्गलादेश निर्यात सुरु गरिएको विद्युत आगामी नोभेम्बर १५ सम्म निर्यात हुनेछ । पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुनेछ । उक्त विद्युत नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफरपुर, बेहरामपुर हुदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म पुग्नेछ ।

यता उर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले नेपाल भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालबाट बंगलादेश विद्युत निर्यात गरिएको बताएका छन् । उनले आगामी दिनमा बढी भन्दा बढी विद्युत बंगलादेश निर्यात गर्नका लागि छलफल भइरहेको स्पष्ट पारे ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपाल उर्जा व्यापारको युगमा प्रवेश गरेको भन्दै भारत र बंगलादेशमा बिजुली निर्यात गरि अर्बौ आम्दानी हुने बताए । “अहिले लोडसेडिङ छैन र हुँदैन पनि, उत्पादित बिजुली बढी भएरै बिक्री सुरु गरिएको छ, ट्रिपिङको समस्या कहिलेकाँही देखिएर झ्याप झ्याप बत्ति जाने गरेपनि यसलाई हटाउँदै लगिएको छ,”  उनले भने ।

त्यस्तै नेपालले जुन १ देखि हरियाणा राज्यमा १८५ मेगावाट विद्युत निर्यात गर्दै आएकोमा आइतबार अर्थात जून १५ बाट बढाएर २०० मेगावाट बिक्री गरेको छ । त्यस्तै विहारमा पनि ८० मेगावाट विद्युत आइतबारबाटै निर्यात हुन सुरु भएको छ ।

Health Tips Ad Road Block