काठमाडौं । उपभोक्ता अदालतमार्फत ठगिएका उपभोक्ताले ६० लाख रकम क्षतिपूर्ति पाउने अवस्था बनेको छ । उपभोक्ताको हक र हितको संरक्षणका लागि स्थापित अदालतले बिहीबार २ वटा मुद्दामा फैसला सुनाउँदै करिब ६० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने निर्णय गरेको हो ।
सबैभन्दा ठूलो क्षतिपूर्तिको निर्णय ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि विरुद्धको मुद्दामा भएको हो । बुढानीलकण्ठ–९ का वसन्त गौतमले हस्पिटल विरुद्ध दायर गरेको मुद्दामा ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने निर्णय भएको छ ।
गौतमले आफ्ना ९८ वर्षीय पिता हरिहरप्रसाद गौतमको ओम हस्पिटलमा उपचार गराएका थिए । तर, उपचारमा लापरवाहीका कारण केही समयमै उनको मृत्यु भएको भन्दै गौतमले अदालतमा उजुरी दिएका थिए। अदालतले उक्त मुद्दामा ८० प्रतिशत क्षतिपूर्ति अस्पतालबाट र बाँकी दुई जना डाक्टरबाट भराउने फैसला गरेको छ ।
त्यस्तै मोटरसाइकल खरिदमा ठगीको मुद्दामा काठमाडौंका नातीबाबु खड्काले ३ लाख ९३ हजार रुपैयाँ क्षतिपूर्ति पाउने फैसला भएको छ । खड्काले जमलस्थित जीआरएस टु युजर्स अटो प्रालिबाट मोटरसाइकल खरिद गरेका थिए । तर बिग्रेको मोटरसाइकल परेपछि रकम फिर्ता नपाएको भन्दै अदालतमा मुद्धा दायर गरेका थिए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितिमा २०८१ चैतदेखि अदालत सञ्चालनमा आएको हो । अदालत सञ्चालनमा आएयता यसले उपभोक्तालाई न्याय दिलाउने उल्लेखनीय काम गर्दै आएको छ । उपभोक्ता अधिकारको संरक्षण र व्यवसायिक पारदर्शिता कायम गर्न उपभोक्ता अदालतको सक्रियता महत्वपूर्ण भएको भन्दै सर्वसाधारणले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन् ।