काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युवाहरुका साथमा सरकार रहने भएकाले उच्च मनोबल र आत्मविश्वास लिएर काम गर्न आग्रह गरेका छन् । काठमाडौंमा आयोजित ‘नवप्रवर्तक युुवाहरुसँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा शिक्षामा जनशक्ति प्रक्षेपणको नीति तर्जुमाका लागि अध्ययन गराएको स्मरण गर्दै आगामी आर्थिक वर्षको बजेटमा ‘जेन्जी’ पुस्ता र ‘स्टार्टअप’ का कार्यक्रमलाई उच्च महत्व दिएको बताए ।
“युवाहरुले हाल जे जस्तो छ, त्यसैमा सन्तोष मान्नुु हुन्न । परिवर्तनका लागि र राम्रोका लागि लाग्ने स्वभाव बोक्नुपर्छ । असन्तोष मान्नुपर्छ भन्नुको अर्थ सामाजिक सञ्जालमा मुख छाड्ने प्रवृत्तिहरु पनि ठिक होइन, त्यस्तो गर्नेहरु उल्टै पारिवारिक तनावमा परेका हुन्छन् ।’’, प्रधानमन्त्री ओलीले भने, “अब युवाहरुले जब खोज्नेतिर होइन, जब सृजना गर्नेतिर लाग्नुपर्छ । उद्यमशीलता, रोजगारी, बजारीकरण र नयाँपनका माध्यमबाट स्वदेशमै अवसर छ भन्ने देखाएर कामकै लागि युवाहरु विदेश जाने क्रम रोक्नुपर्छ ।’’
प्रधानमन्त्री ओलीले युुवाहरुले रचनात्मकतामा निरन्तरता दिनुपर्नेमा जोड दिँदै सुरङमार्ग, जलमार्गजस्ता पूर्वाधार विकासमा भइरहेकाले सरकार र सबै क्षेत्रको सत्प्रयासबाट मुलुकको समृद्धि हासिल हुने बताए ।






















