हेटौंडा । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानलाई दूधको रकम भुक्तानीका लागि विभिन्न प्रयास भइरहेको बताएका छन् । विश्व दूध दिवसका अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपन्क्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा ‘दुधको खपत बढाऔं, अर्थतन्त्रलाई सबल बनाऔं’ नाराका साथ हेटौंडामा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले सरकारी संस्थान र निजी डेरीहरुले चाँडै किसानको भुक्तानी गर्नुपर्नेमा जोड दिएका हुन् । असार मसान्तसम्ममा एक महिनाको बाँकी राखेर भए पनि दुग्ध किसानको रकम भुक्तानी गर्न म आग्रह गर्दछु, मन्त्री अधिकारीले भने ।
किसानको रकम तिर्नका लागि वार्षिक ३/४ करोड पनि सहयोग हुन्छ भनी दुग्ध विकास संस्थानका कर्मचारीहरुले लिँदै आएको सुविधा हाललाई कटौती गर्न वाध्य भएको मन्त्री अधिकारीले बताए । जबसम्म किसान खुसी हुँदैनन् किसानको बाँकी रकम दिन सकिँदै तबसम्म हामीले काम गरेको देखिँदैन, यो गर्दा हुन्छ कि त्यो गर्दा हुन्छ भनेर इमान्दारीताका साथ काम गरिएको मन्त्री अधिकारीले उल्लेख गरे । चीन लगायतका मुलुकमा दुग्धपदार्थ निर्यातका लागि मन्त्रालयले गृहकार्य गरिहेको र चाँडै त्यस कार्यमा सफलता प्राप्त हुने आशा पनि उनले व्यक्त गरे ।
विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवम् जीविकोपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओले) सन् २००१ जुन १ देखि विश्व दूध दिवस मनाउन थालिएको हो । आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालमा पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालिएको हो ।
दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।





















